यासोक । एक दशक अघि काकाकुल अवस्थाको कुम्मायक गाउँपालिका अहिले खानेपानीको पहुँचमा पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका नागरिकका लागि हाल उपलब्ध भएको खानेपानी सुविधा आशाको किरण बनेको छ । खानेपानी व्यवस्था विस्तार भएसँगै करिब १४ सय घरधुरी प्रत्यक्ष रूपमा स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् ।
पहिले गाउँका धेरै घरपरिवारले टाढा–टाढाका मुहान तथा खोल्साबाट पानी ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता थियो। बिहानै उठेर घण्टौँ समय लगाएर पानी बोकेर ल्याउनुपर्ने अवस्था विशेषगरी महिला र बालबालिकाका लागि निकै कष्टकर हुने गरेको थियो। कतिपय घरधुरीले एक गाग्री पानीका लागि लामो दूरी हिँड्नुपर्ने अवस्था रहेको तितो यथार्थ कुम्मायक–५ राम बहादुर बुढाथोकीको अनुभव छ ।
तमोर लिफ्ट खानेपानीको सुविधासंगै अहिले अहिले गाउँका विभिन्न स्थानमा धारा जडान गरिएको छ । पाइपलाइनमार्फत पानी वितरण गरिएकाले अधिकांश घरपरिवारले सहज रूपमा पानी प्रयोग गर्न थालेका छन् । यसले स्थानीयको दैनिकी निकै सहज बनाएको छ ।
बुढाथोकीका अनुसार पानीको अभावका कारण पहिले सरसफाइमा पनि समस्या हुने गरेको थियो। अहिले भने नियमित रूपमा पानी उपलब्ध हुन थालेपछि घरपरिवारमा सरसफाइ गर्ने बानी बढेको छ । साथै स्वच्छ पानी प्रयोग बढेसँगै स्वास्थ्यसम्बन्धी समस्या पनि कम हुने अपेक्षा गरिएको छ ।
खानेपानी सुविधा उपलब्ध भएपछि किसानहरुको दैनिकीमा समेत सकारात्मक परिवर्तन आएको छ । पहिले पानी ल्याउनकै लागि दिनको धेरै समय खर्चिनुपर्ने भएकाले अन्य काम गर्न कठिन हुने गरेको थियो । अहिले घरमै धारा भएपछि समय बचत भएको र अन्य काममा ध्यान दिन सहज भएको स्थानीय पदम खड्काले बताउनुभयो ।
काकाकुल कुम्मायकबासीको लागि नेपाल सरकारले २०६६ सालमा नेपालकै पहिलो सुख्खाक्षेत्र जिल्लाको रुपमा कुम्मायक गाउँपालिकालाई घोषणा गरेको थियो । विद्यमान खानेपानी समस्या समाधान गर्न ५२ करोडको लगानीमा २०७२ देखि वृहत तमोर पम्पिंङ खानेपानी योजनाको काम सुरु भयो । मुख्यपाईपलाइनको काम प्रेरा–स्वामीनारयण जेभी र २०७४ बाट बितरणलाइनको काम कन्काई महादेव खिम्ती–स्वामीनारायण जेभीले गरेको थियो । पहिलो र दोस्रो दुबै चरणको काम २०७६ सालमा पूरा भएपछि २ हजार ३ सय ३५ घरधुरीमा खानेपानीको धारा जडान भयो । जसमध्ये अहिले हाल १ हजार ३ सय ९१ घरधुरीले नियमित खानेपानी उपभोग गर्दै आएका छन । तमोर नदिबाट १ हजार ७७० मिटर उचाहीमा पानी लिफ्ट गरी बस्तीमा पानी बितरण हुदै आएको छ ।
तमोर खानेपानी योजनाको व्यवस्थापनको लागि उपभोक्ता समिति गठन गरी स्थानीय स्तरमै सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी दिइएको छ । समितिले कर्मचारी व्यवस्थापन, पाइपलाइन मर्मत, मुहान संरक्षण तथा सरसफाइको काम गर्दै आएको छ । खानेपानी आयोजना महंगो भएकाले मासिक १० लाख रुपैयाँ समितिको खर्च हुने गरेको छ । उपभोक्ताहरुबाट खानेपानी महसुल बापत ७ लाख रुपैयाँ उठ्ने गरेको छ । बाँकी ३ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेको समिति अध्यक्ष मेघराज निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ सहयोग गरेको छ । जुन रकमले ठुलो राह्रत दिएको छ निरौलाले भन्नुभयो् । विद्युत महसुल, कर्मचारी र खानेपानी मर्मत व्यवस्थापन गर्न मात्रै बार्षिक १ करोड २० लाख रुपैयाँ खर्च हुने गरेको छ ।”
खानेपानी योजनामा समस्या नआएको समयमा उपभोक्ताबाट उठेको रकम र पालिकाले सहयोग गरेको रकमले मात्रै पुग्दैन, वर्षमा झन्डै १० लाख रुपैयाँ अपुग हुने गरेको समितिको भनाइ छ । सरकारले सिंचाइको लागि ५० प्रतिशत महसुल छुट दिने गरेको छ । तर पिउँने पानीमा छुट नहुँदा यस्ता महंगा योजना संचालन कठिनाइ उत्पन्न भएको निरौलाको भनाइ छ । खानेपानी जस्तो आधारभूत सुविधामा पहुँच विस्तार हुनु ग्रामीण विकासका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ । १४ सय घरधुरीलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने यस व्यवस्थाले गाउँपालिकाबासीमा नयाँ आशा पलाएको छ भने भविष्यमा जीवनस्तर सुधार हुने अपेक्षा समेत बढेको छ ।








प्रतिक्रिया