पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुह्येश्वरी आधारभुत विद्यालयलाई दाताको साथ: स्कुल ब्याग, पोषाक र शैक्षिक सामाग्री बितरण 

चिन्तन खबर

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालय दुम्सिपोखरीलाई दाताको साथ मिल्न थालेको छ । आइतबार विद्यालयमा एक कार्यक्रमका बीच दाताहरुले स्कुल ब्याग, पोषाक र शैक्षिक सामाग्री एक साथ बितरण गर्नुभएको थियो । विद्यालयका विद्यार्थीहरुलाई अधिकारी निर्माण सेवा पाँचथरका संचालक शिव अधिकारीले ३० हजार मुल्य बराबरको ४५ थान स्कुल ब्याग बितरण गर्नुभएको थियो । अधिकारीले शैक्षिक सामाग्री बोक्न प्रयोग गर्ने स्कुल ब्याग बितरण गर्नुभएको हो ।

नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई स्कुल ब्याग सौजन्य गरेको भन्दै विद्यालयले कदर–पत्र सहित सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले अधिकारीलाई कदर पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

त्यस्तै विद्यालयमा स्थापना गरिएको ११ वटा अक्षयकोषमध्ये ६ वटा अक्षयकोषको रकमबाट ४५ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ । विद्यालयमा स्थापना गरिएको अविमायाँ ढकाल, मिना सोडरी, दुर्गादेवी भण्डारी, रञ्जीत र गंगा भण्डारी र पाँचथर दोहा कतार सेवा समाज गरी ६ वटा अक्षयकोषको ब्याज रकम २० हजार रुपैयाँबाट स्कुल पोशाक वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको भन्दै १२ जना अक्षयकोष दाताहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा सव डिविजन वन कार्यालय यासोकका प्रमुख चन्द्रकान्त झा.ले समेत शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । त्यस्तै विद्यालयको ३० वर्षे सेवा अवधि पुरा गरी राजिनामा दिनुभएका शिक्षक राम कुमार सम्बाहाम्फेले पनि नगद ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्दै नगद ५ हजार मुल्यको शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । त्यसैगरी विद्यालयका पुर्व शिक्षक खगेन्द्र प्रसाद खतिवडाले पनि नगद रु २० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । विद्यालयले कार्यक्रमका प्रमुख र विषेस अथिति, सहयोगीदाता र संचारकर्मीहरुलाई समेत मायाँको चिनो प्रदान गरेको थियो । विद्यार्थी अभिभावक सहित १३५ जना सहभागी रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।