होक्काइदो । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा जापानको होक्काइदोस्थित साप्पोरोमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
सेप्टेम्बर ७ (भदौ २२) गते नेपाली समाज होक्काइदोको आयोजनामा आयोजित कार्यक्रममा चर्चित गायिका शान्ति श्री परियारको विशेष प्रस्तुतिसँगै होक्काइदोमा रहेका नेपालीहरूले तीज उत्सव मनाएका हुन्।
कार्यक्रममा शान्ति श्री परियारले आफ्ना लोकप्रिय तीज तथा अन्य सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित नेपाली दिदीबहिनी तथा दाजुभाइलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। उहाँका प्रस्तुतिमा दर्शकहरू उत्साहपूर्वक झुमेका थिए।
नेपाली समाज होक्काइदोकी उपाध्यक्ष चाहना पुरीका अनुसार कार्यक्रममा होक्काइदोमा रहेका स्थानीय नेपाली कलाकारहरूले समेत विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए।
हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रमले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको पुरीले बताउनुभयो।
कार्यक्रममा होक्काइदोमा रहेका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तीजको अवसरमा नेपाली मौलिक संस्कृति र आपसी भाइचारालाई थप बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।









प्रतिक्रिया