विराटनगर, २८ साउन । सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा लागूऔषध दुर्ब्यसनी निगरानी कक्षको स्थापना भएको छ ।
एक कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा सो कक्षको समुद्घाटन भएको छ । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि भइरहेको वताउनुभयो ।
युवाहरु लागूऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दीर्घकालीन सर परिरहेको वताउँदै दाहालले लागूऔषध दुर्ब्यसनीको रोकथाम तथा नियन्त्रणका लागि यो कक्षको परिणाममुखी हुने विश्वास ब्यक्त गर्नुभयो ।
उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरुलाई सुनसरीको भण्टावारी स्थित सीमा नाकाबाट आवतजावत गर्ने शङ्कास्पद व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा परामर्शका लागि परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त कक्ष इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको हो ।
प्रतिक्रिया