पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकका किसान भन्छन् – उत्पादित सामग्रीको बजारको सुनिश्चित होस्

चिन्तन खबर

यासोक–कुम्मायक गाउँपालिका–२ माङजाबुङका किसानले आफूहरु उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग गर्न गाउँपालिकालाई आग्रह गरेका छन । वडाको साविक–७ नं. वडास्थित सृजनशिल कृषि तथा पशुपंक्षी कृषक समूहले अन्तरक्रिया कार्यक्रम गर्दै गाउँपालिकासँग किसानका साझा समस्या राखेका हुन । समूहका कृषक महाप्रसाद कुँवरले गाउँपालिकाले उन्नत जातको बिउ बिजन र बालीनालीलाई रोग किराबाट जोगाउन खेतीको सिजनमा किटनाषक विषादी उपलब्ध गराउनु पर्ने माग राख्नुभयो । “हामीले बारीमा आप, कटर र लिची लगाएका छौँ । मुख्य बाली मकै र धान पनि लगाउँछौ । तर किराले सबै सखाप नै पार्छ । यस्तो समस्या रोकथाम गर्न समय समयमा विषादी उपलब्ध गराउनु पर्छ”, कुँवरले भन्नुभयो ।

समूहका सचिव कमलप्रसाद निरौलाले मकै उत्पादन गर्दै आएका किसानले आवश्यकताको आधारमा विषादी नपाएको गुनासो गर्नुभयो । मकैमा लाग्ने फौजी किराको विषादी खेतीको क्षेत्रफलको आधारमा बितरण नभएको गुनासो उहाँले राख्नुभयो ।
“पशुपालक किसानलाई लम्पी स्किन रोगका कारण गाइबस्तु मर्दा ठूलो क्षति भोगे । गाउँपालिकाले क्षतिको बिवरण माग्यो । तर किसानले क्षतिपूर्ति पाएनन् । जसले गर्दा पनि किसान निरास हुनुपर्ने अवस्था आयो”, निरौलाले भन्नुभयो, “अहिले हामीलाई गाउँपालिकाले ठूलो सहयोग गर्नु पर्दैन । सामान्यतया उत्पादन गरेको बस्तुको बजारीकरण र किसानलाई बिउ बिजन र बिषादी उपलब्ध गराएर मात्रै पनि पुग्छ । यो विषयमा गाउँपालिका गम्भीर बन्नुपर्छ ।”

“किसानले उत्पादन गरेको वस्तुको मालिक ब्यापारी बनेका छन् । हामीले उत्पादन गरेका कृषि सामग्रीको राम्रो मूल्य आउदैन”, अर्का कृषक दिल बहादुर मिश्रले गुनासो गर्नुभयो । कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गर्नुपर्ने, सो स्थानका कृषकहरुले पालेका पशुचौपाया, बदाम, मकै र सागसब्जीको बजारीकरण गर्नुपर्ने उहाँको जोड थियो ।

अन्तरक्रियामा सहभागी गाउँपालिका अध्यक्ष वमप्रसाद लावतीले किसानका साझा समस्या समाधान गर्ने जवाफ दिनुभयो । कृषिमा राम्रो सम्भावना भएको गाउँपालिकालाई निर्वाहमुखी कृषि प्रणालीलाई ब्यावसायीक बनाउने गाउँपालिका अध्यक्ष लावती बताउनुभयो । “हामीले यस पटकको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सहित नीति तथा कार्यक्रम ल्याएका छौँ । किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरणमा गाउँपालिका लाग्नेमा ढुक्क रहनु होला”, लावतीले भन्नुभयोे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, कुम्मायक–२ का वडाअध्यक्ष बालकृष्ण शेर्मा, कुम्मायक गाउँपालिका र पशुपंक्षी शाखा प्रमुख नगेन्द्रप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । सृजनशिल कृषि तथा पशुपंक्षी कृषक समूहले आयोजना गरेको कार्यक्रम समूहका अध्यक्ष चेतबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।