पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिलिहाङमा कार्यसम्पादनमा उत्कृष्ट स्वयमसेविकाहरु सम्मानित

चिन्तन खबर

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाले कार्यसम्पादनमा उत्कृष्ट भएका १४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस–२०८१ को अवसरमा मातृशीशुको हेरचाहमा खटिने स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित भएका हुन ।
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले बिहीवार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी तथा उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईंले स्वयमसेविकाहरुलाई कदर–पत्र, माला र एक थान ऊनीको टोपीसहित सम्मान गरेका हुन । सात वटा वडा रहेको गाउँपालिकामा कार्यरत ३९ जना स्वयमसेविका कार्यरत छन । गाउँपालिकाले उनीहरु सबैलाई एकै स्थानमा भेला पारेर आगामी दिनमा समेत सामुदायिक स्वास्थ्यलाई सवल बनाइराख्न प्रेरित गर्ने प्रयास गरेको हो ।
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेका अनुसार गाउँपालिकाले वर्षेनि स्वयमसेविकाहरुको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ । स्वयमसेविकाहरुले विभिन्न १४ वटा क्रियाकलापमा गरेको कार्यसम्पादनका आधारमा अङ्क प्रदान गरिएको थियो ।
१४ वटा क्रियाकलापमा आमा समूहको मासिक बैठक बसेको, नयाँ गर्भवती तथा नियमित गर्भवती जाँच गरेको सुनिश्चित गरेको, भिटामिन ‘ए’सहितका कार्यक्रम सञ्चालन भएको, नियमित तौल अनुगमन गरेको लगायत क्रियाकलाप छन ।
स्वयमसेविकाहरुले प्राप्त गरेको अङ्कका आधारमा प्रत्येक वडामा उत्कृष्ट भएका दुई जना स्वयमसेविकालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा जीवनकला तामाङ, निर्मला वाग्ले, रिता विश्वकर्मा, विद्या श्रेष्ठ, शान्ता योङहाङ, देवी गिरी, माया लिम्बू, कृष्णमाया राना मगर, रमा मैनाली, देवीमाया नेपाल अधिकारी, तारादेवी पौडेल, पवित्रा सेलिङ, अनितामाया रुम्बा र फूलमाया तामाङ रहनुभएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको कार्यसम्पादनअनुसार वडा नं. ३ की शान्ता योङहाङले ९० प्रतिशत अङ्क पाउनुभएको छ ।
यस्तै ८० देखि ८९ प्रतिशत अङ्क १० जनाले, ७० देखि ७९ प्रतिशत अङ्क १७ जनाले, ६० देखि ६९ प्रतिशत अङ्क ७ जनाले र सोभन्दा कम अङ्क दुई जनाले पाएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
पहिलो पटक एकै ठाउँ भेला हुन पाएका स्वयमसेविकाले गाउँपालिकाले वर्षेनि आफूहरुलाई यस प्रकारले उत्प्रेरित गर्नुपर्ने वताए । वडा नं. २ की स्वयमसेविका रिता विश्वकर्माले भन्नुभयो, “वडामा सानो कार्यक्रम गरेर दिवस मनाउथ्यौं । आज गाउँपालिका अध्यक्ष, उपाध्यक्षसँग हाम्रा कुरा राख्न पायौं ।” विश्वकर्माले आफूहरु स्वयमसेविका हुन तत्पर भएकाले सरकारसँग धेरै अपेक्षा नगरेको भएपनि योगदानका आधारमा गाउँपालिकाले थप सुविधा उपलब्ध गराउनु उचित हुने वताउनुभयो ।
कार्यक्रममा अम्बिका ओझा, रमा मैनाली, देवीमाया अधिकारी र अनितामाया रुम्बाले नवजात शीशूको हेरचाह, गर्भवती महिलाको हेरचाह तथा नियमित गर्भ जाँच लगायत विषयमा सचेतनामूलक गीत प्रस्तुत गर्दा सहभागी स्वयमसेविकाहरु छमछमी नाचेका थिए । अर्की स्वयमसेविका विष्णुकुमारी योङहाङले स्वास्थ्य सचेतनामूलक कविता वाचन गर्नुभएको थियो ।
यस गाउँपालिकामा स्वास्थ्य स्वयमसेविकाहरुले वार्षिक रु. ५२ हजार भत्ता प्राप्त गर्दै आएका छन् भने विभिन्न प्रकारका खोप सञ्चालन भएका दिन दैनिक रु. ४०० भत्ता प्राप्त गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख घिमिरेले वताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष एवम् २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अध्यक्ष सुमित्रा उप्रेती सेढाईंले शीशू मृत्यु दर र घरमा सुत्केरी गराउने कार्यलाई शून्यमा झार्दै मातृशीशूको हेरचाहमा परिवारलाई जिम्मेवार बनाउन स्वयम्सेविकाहरुले ठूलो योगदान दिएको वताउनुभयो ।
गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले आगामी दिनमा समेत गाउँपालिकाले अन्यत्रको तुलनामा बढी सेवा सुविधा दिलाउने प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।