पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । गाउँपालिकाको ५ नम्बर वडा फाक्तेपस्थित फुङ्लेङ टोलमा निर्माणाधीन साढे दुई तले आधुनिक र सुविधासम्पन्न संरचना हालसम्म ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको गाउँपालिकाका सव–इन्जिनियर ऋषिकेश तुम्रोकले जानकारी दिनुभयो।
स्थान चयनमा लामो समयसम्म सहमति नजुट्दा रोकिएको यो योजना अन्ततः गत असोज ९ गते औपचारिक रूपमा सुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेको उपस्थितिमा शिलान्यास गरिएको योजना संघीय सरकार र गाउँपालिकाको साझेदारीमा अघि बढिरहेको हो ।
२०८२ चैत्र ११ भित्र सम्पन्न गर्ने लक्ष्यसहित काठमाडौँस्थित ‘साबिरा–माङ्मालुङ जेभी कम्पनीले ७ करोड २९ लाख ८० हजार २७२ रुपैयाँ ९२ पैसामा ठेक्का पाएको हो। कुल लागत ९ करोड ७२ लाख अनुमान गरिएको भए पनि प्रतिस्पर्धी प्रस्तावका आधारमा ठेक्का सम्झौता गरिएको बताइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोका अनुसार फुङ्लेङ टोललाई अबको प्रशासनिक केन्द्रका रूपमा विकास गरिँदैछ। गाउँपालिकावासीहरूले करिब ४५ रोपनी जमिन प्रदान गरेका छन्, जसमध्ये ९ रोपनीमा मुख्य भवन र ६ रोपनीमा सहायक संरचना बन्नेछन्।
निर्माणाधीन भवन आधुनिक सुविधा र समावेशी डिजाइनयुक्त हुनेछ। यसमा लिफ्ट, अपांगमैत्री र बालमैत्री पहुँच, स्तनपान कक्ष, प्रतिक्षालय, शुद्ध खानेपानी, इन्टरलॉक ब्लकमार्फत पार्किङ, बगैँचा, घेराबार, तथा ट्रस्टको छानासहितको सुविधा रहनेछ।
भवनको आरसीसी संरचना, पिल्लर र ढलान कार्य सम्पन्न भइसकेको छ भने हाल प्लास्टर, इट्टा जोड्ने, तथा भित्री सजावटको काम भइरहेका छन्।
उपाध्यक्ष ठाकुरसिंह नेम्बाङका अनुसार, “यदि निर्माणको गति यस्तै रह्यो भने, तोकिएको म्यादमै सम्पन्न हुने प्रबल सम्भावना छ। यो संरचना गाउँपालिकावासीलाई सिंहदरबारको अनुभूति दिनेछ।”
महान राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको नाममा रहेको गाउँपालिकामा निर्माण भइरहेको यो संरचनाले स्थानीय पहिचान र गौरव थप सशक्त बनाउने अपेक्षा गरिएको छ। भवन परिसरमा महागुरुको शालिक समेत स्थापना गरिने अध्यक्ष बृजहाङ आङ्देम्बेले बताउनुभयो।
प्रतिक्रिया