काठमाडौं । नेतृत्व तहबाटै राजा ल्याउने आन्दोलन तुहाउने षडयन्त्र भएसँगै राप्रपाभित्र कलह सुरु भएको छ। राप्रपामा यसै पनि पहिलेदेखि नै आन्दोलनलाई लिएर दुई धार देखिएको थियो भनिन्छ ।
इतर पक्षका नेता, कार्यकर्ताहरू अध्यक्ष राजेन्द्र लिङ्देन आन्दोलनको विरोधमा रहेको, उहाँ आन्दोलन तुहाउने काम गरेको दाबी गर्न थालेका छन् । त्यसो त लिङ्देनले पनि आफूलाई नवराज सुवेदी नेतृत्वको आन्दोलन समितिले वास्ता नगरेको भनेर आफू निकटहरूलाई सुनाउने गरेका थिए ।
आदिवासी समुदायको भएकै कारण डा. जगमान गुरुङसँग उहाँ झनै सशंकित भएको पनि निकटस्थहरु बताउछन् ।
आन्दोलनमा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्तालाई महामन्त्री डा. धवलशमशेर राणा र उहाँको समूहले आन्दोलन कब्जा गरेर आन्दोलनलाई महाधिवेशनको रणनीतिको रूपमा तयारी गरेको लिङ्देनको सुरुदेखि कै भनाइ थियोे। यसो भन्दाभन्दै लिङ्देन गुटले आन्दोलनको बेला आन्दोलन नभई महाधिवेशनमा पूरा ध्यान लगाउने प्रयास गरेको थियो।
आन्दोलन सकिएसँगै लिङ्देन पार्टी महाधिवेशनको तयारीमा जुट्नुभएको स्रोत बताउछ । संस्थापनइतर पक्षका नेताहरूले पनि जिल्ला अधिवेशनमा जोड दिन थाल्नुभएको छ ।
यतिबेला लिङ्देनको विरुद्धमा पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, डा. धवलशमशेर राणा, कुन्ति शाही, रवीन्द्र मिश्र, जयन्त चन्द, मुकुन्द श्याम गिरी, सगुन सुन्दर लावती लगायतका नेताहरू खुलेरै लाग्नुभएको बुझन त्यति गाह्रो छैन् । यो गठजोड हेर्दा लिङ्देन कमजोर देखिनुभएको राजनीतिक विश्लेषकहरुको भनाई छ, त्यसो त उहाँ पक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्कीलगायतको समर्थन देखिन्छ । तर, आन्दोलनमा नकारात्मक रोल गरेपछि अध्यक्ष लिङ्देन अहिले कार्यसम्पादन समितिमासमेत अल्पमतमा रहेको राप्रपाका एक नेताले बताउनुभयो ।
लिङ्देन कमजोर भएपछि रणनीतिक रूपमा आफूइतरका नेताहरूलाई पार्टी विभाजन गर्न लागेको आरोप लगाउन भ्याउनु भएको नेताहरुकै गुनासो छ । कार्यकर्ताको सहानुभूति बटुल्न उहाँ कहिले (आमाको दूध खाएको भए पार्टी फुटाउन) भन्दै चुनौती दिने गरेको ति नेताले बताउनुभएको छ ।
हालै काठमाडौंमा भएको एक कार्यक्रममा लिङ्देनले पार्टी कसैले फुटाउन नसक्ने भनी गरेको भाषणलाई लिएर राप्रपाभित्र तरङ्ग नै उत्पन्न भएको छ भने उपाध्यक्ष पाण्डेको राप्रपामा छट्टु स्याल पस्यो भन्ने भाषणले धेरै बजार पायो।
राप्रपा फुट्ने कुनै संभावना नभएको, संस्थापनइतर पक्ष पार्टी फुटमा नरहेको अवस्थामा लिङ्देन स्वयम पार्टी फुटोस् भने जस्तो गरेर आफैं बारम्बार फुटको चर्चा किन गरिरहन्छन् रु यसमा लिङ्देनको हारेको मनस्थिति झल्किएको एक केन्द्रीय सदस्य बताउनुहुन्छ ।
कार्यसम्पादन समिति र केन्द्रीय समिति दुबैमा अल्पमतमा परेपछि लिङ्देन कार्यकर्ताको सहानुभूति बटुल्न पार्टी फुटको चर्चा उठाउँदै हिँडेको ती केन्द्रीय सदस्य बताउनुहुँन्छ ।
हालसम्मको सबै केन्द्रीय समिति बैठकमा अध्यक्षले कुनै राजनीतिक प्रस्ताव पास गराउन नसकेको, सबै बैठक विवादमा फसेको, केन्द्रीय समितिमा सदैव कमजोर देखिएको र अल्पमतमा परेपछि कसैले सोच्दै नसोचेको पार्टी फुटको चर्चा अध्यक्षले गरेको दाबी उहाँ गर्नुहुन्छ ।
पार्टी विधानको मर्म र भावनाविपरीत अध्यक्ष अहिले चालिस वर्षमुनि र माथि भन्दै गुट सिर्जना गर्दै हिँडेको, सबै वर्गीय संगठनहरू लथालिङ्ग पारेको र हरेक जिल्लामा विवाद खडा गर्न अध्यक्ष स्वयम् नै सक्रिय रहेका कारण तोकिएको समयसीमामा कुनै जिल्लामा पनि अधिवेशन नहुने समेत उहाँको दाबी छ ।
यसपटकको महाधिवेशनमा राप्रपामा अध्यक्ष पदका लागि विक्रम पाण्डे, डा। धवलशमशेर राणा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र लिङ्देन स्वयमले तयारी गरिरहेको राप्रपा कार्यकर्ताहरू चर्चा गर्छन्।
अधिवेशनसँगै पटकपटकको टुटफुटको मारमा पर्दै आएको राप्रपा अबको अधिवेशनबाट कुन मार्गमा हिँड्ने होरु त्यो त हेर्न नै बाँकी छ।
यद्यपि, लिङ्देन समयमा अधिवेशन गराउने पक्षमा देखिदैनन् । उनी एक वर्ष बढाउने विधानको सुविधातिर बढ्दैछन् भन्दा अन्यर्थ नहोला। राप्रपाको जिल्ला अधिवेशन असोज अन्तिमसम्म सकाउने निर्णय भएता पनि असारको अन्तिमसम्म एउटा पनि जिल्लामा काम सुरु भएको देखिँदैन। तसर्थ समयमा अधिवेशन हुनेमा हामी चिन्तित छौँ भन्नुहुन्छ संस्थापनइतरका एक नेता।
केन्द्रीय सचिवालय सुस्त छ, सचिवालयबाट कतै कुनै जिल्लामा अधिवेशन भए, नभएको प्रक्रियासमेत बुझ्ने काम नभएको ती नेतालेभन्नुभयो । त्यसो त गत महाधिवेशनमा निर्वाचित भएपछि लिङ्देनले ६ महिनाभित्र सबै राजावादीलाई एकजुट बनाउने र राजसंस्था स्थापनाको लागि आन्दोलनलाई निर्णायक बनाउने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिक्रिया