पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकमा ११ बुद्धे सहमती, कुखुरा पालन स्थगित गर्ने प्रस्ताव


यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा सकृय ६ राजनीतिक दलहरुले गत असोज ७ गते ११ बुद्धे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाए । गाउँपालिकामा बढ्दै गएको नीतिगत भ्रष्ट्रचार र बेथितिको बिरुद्धमा सुझाव दिएका थिए । जुन सुझावलाई गाउँपालिकाले कार्यान्वय गर्ने भएको छ । सोमबार गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि र सर्वदलिय बैठक मार्फत सबै विषयलाई कार्यान्वय गर्ने जनाएको हो । गाउँपालिकाले राजश्व संकलनको प्रमुख आधार बनाएको कुखुरा पालन नगर्ने सहमती गरेको छ ।

गाउँपालिकाले राजश्व संकलन गर्न भन्दै उपाध्यक्षको २२ रोपनी जग्गा लिजमा लिएर गाउँपालिकाले १० लाख खर्च गरेको थियो । चालु आर्थिक वर्षमा समेत ३१ लाख बिनियोजन गरेको थियो । सो विषयमा बिवाद बढेपछि गाउँपालिकाले योजना स्थगित गर्ने निर्णय गरेको हो । योजना कार्यान्वयन नगर्न कार्यापालिकामा प्रस्ताव गरेको छ ।

गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्दै भ्रष्ट्रचार मुक्त पालिका निर्माण गर्न सरोकारवालासंग समन्वय गरी अघि बढ्ने, कर्मचारीको आवास सुविधा निर्देशिका, कार्यविधि र मापडण्ढ तर्जुमा गर्ने भएको छ । गाउँपालिकाको सवारीसाधन कानुन विपरित संचालनमा रोक लगाई नियमन गर्ने सहमती भएको छ । त्यस्तै गाउँपालिकाले बेमौसममा गरेको विद्यालय समायोजन एकीकरण एवम घटुवा तथा दरवंदी मिलान सम्बन्धि निर्णयलाई पुनरावलोकन गरी कार्यान्वयन गर्ने र समायोजन गर्नु परे शैक्षिक सत्रको सुरुवाती समयमा मात्रै गर्ने भएको छ ।
अन्तिम वुद्धामा गाउँपालिकाले रोपेको बेसार खेतीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ । पालिकामा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारी बीच भएको सहमती कार्यपालिका र बिषेस वा हिउँदे गाउँसभा मार्फत कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।
अन्य बाँकी ५ वटा बुद्धा कार्यालयको काम कारवाहीसंग जोडिएकाले आगामी दिनमा सच्याएर जाने सहमती बनेको छ । सर्वदलिय बैठकमा जनप्रतिनिधि सहित दलका प्रतिनिधिको सहभागीता थियो । राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस कुम्मायक सभापती दुर्गा प्रसाद बम्जन, एमाले अध्यक्ष मेघराज निरौला, माओवादी केन्द्रका अध्यक्ष जिवि याक्थुम्बा, राप्रपाका अध्यक्ष चन्द्र बहादुर लावती, नेकपा समाजवादी अध्यक्ष राजु खतिवडा र संयुक्त पहिचानवादी मोर्चा अध्यक्ष तारा नाथ सुब्बा सहित ६ दल सहभागी थिए ।