यासोक। पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालयका दुम्सिपोखरीका ७ जना जग्गादाताहरुलाई अभिनन्दन सहित सम्मान गरिएको छ । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच १० रोपनी जग्गा निशुल्क दान गर्ने दाताहरुलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विद्यालयले जग्गादाता खड्ग बहादुर भण्डारी र दिल बहादुर भण्डारीलाई सम्मान गरेको छ । त्यस्तै मनमाया, डिगबीर, पवित्रा, कमला र लोकमायाँ भण्डारीको परिवारका सदस्यहरुलाई सम्मान गरेको थियो । २०४२ सालमा स्थापना भएको विद्यालयका जग्गादाता र परिवारका सदस्यको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रध्यानाध्यपक भक्त बहादुर तामाङले बताए ।
कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, विशिष्ट अथिति कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जग्गादातालाई प्रशंसा–पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उहाँहरुले विद्यालयका लागि भूमिदान गरि पवित्र कर्ममा सहयोग गरेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर र भौतिक क्षेत्रको सुधारका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भण्डारी परिवारले दिएको जग्गामा हाल विद्यालयको खेलमैदान र तीन वटा भवन छन । सोही भवनबाट विद्यालय संचालन हुदै आएको छ । जग्गादातालाई सम्मान गरेको विद्यालयले चाडै सिलालेखको स्थापना गर्ने जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।







प्रतिक्रिया