पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगन थापाको हस्ताक्षरमा निर्वाचनमा होमिन निवर्तमान सह-महामन्त्री आङदेम्बेको अपिल

चिन्तन खबर

पाँचथर । नेपाली कांग्रेसका निवर्तमान सह–महामन्त्री भीष्मराज आङदेम्बेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको स्पष्ट पारेका पार्नु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने सह–महामन्त्री आङदेम्बेले चुनावमा कांग्रेस विभाजित भएर गए मुलुक र पार्टी दुवैले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

पार्टीभित्र देखिएको विवादलाई थाती राखेर देश र लोकतन्त्रलाई पहिलो प्राथमिकतामा राख्दै निर्वाचनमा होमिनु नै अपरिहार्य रहेको उहाँको भनाइ थियो । “पार्टीभन्दा माथि देश हो,” उनले भने, “अहिले आन्तरिक मतभेदभन्दा पनि लोकतान्त्रिक स्थिरता र राष्ट्रिय जिम्मेवारी महत्वपूर्ण छ । त्यसका लागि कांग्रेस मिलेर जानैपर्छ ।”

दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेसभित्र विवाद चर्किएको छ । सो निर्णयविरुद्ध पार्टी संस्थापन पक्षका, सभापति शेरबहादुर देउवा निकट नेताहरूले आधिकारिकता माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यस्तो राजनीतिक र कानुनी अन्योलका बीच पनि निर्वाचन प्रक्रिया नरोकिने भन्दै आङदेम्बेले सबै नेता–कार्यकर्ता तयारी अवस्थामा रहनुपर्ने बताउनु भयो ।

उहाँले कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिह्नमै निर्वाचन लड्न तयार हुनुपर्ने उल्लेख गर्नुभयो । “हामीसँग समय निकै कम छ,” आङदेम्बेले भन्नुभयो, “राष्ट्रियसभा निर्वाचन र समानुपातिकतर्फ १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरिसक्नुभएको छ । अब पर्सि मंगलबार उम्मेदवारको मनोनयन हुँदैछ, प्रतिनिधिसभा निर्वाचनमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षरबाट नै सबैले निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था छ ।”

उहाँले कानुनी प्रक्रिया आफ्नो ठाउँमा भए पनि निर्वाचन लोकतन्त्रको अनिवार्य अभ्यास भएकाले त्यसलाई अवरुद्ध गर्न नहुने बताउनु भयो । सह–महामन्त्री आङदेम्बेले कांग्रेस एकजुट भएर निर्वाचनमा होमिए मात्र पार्टीको संगठन, विश्वास र जनसमर्थन जोगाउन सकिने उनको निष्कर्ष छ ।