यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थीत गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ । बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमको बीच नगद रु ५० हजार २५ रुपैयाँको स्व.“भुवनसिं, कलमायाँ र डिग बहादुर भण्डारी” स्मृति अक्षयकोष स्थापना गरिएको हो । स्व.बुवा भुवनसिं, आमा कलमायाँ र दाजु डिग बहादुर भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता भीम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
कुम्मायक गाउँपालिका–५ को नरकटे घरभई हाल झापा जिल्लामा बसोबास गर्दै आएका छोरा, छोरी र बुहारीहरुले अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले विद्यालयमा अक्षयकोष स्थापना गरेको अक्षयकोषदाता भण्डारीले जानकारी दिनुभयो । अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिने उहाँको भनाइ छ ।
सोही अवसरमा विद्यालयको नर्सरीदेखि कक्षा ८ सम्म अध्यायन गर्ने ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो । दाताहरुले विद्यार्थीहरुको पठनपाठनमा सहजहोस् भन्ने उदेश्यले कपी, डट र पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको प्रधानाध्यापक भक्त बहादुर तामाङले जानकारी दिनुभयो । परिवारको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरी सहयोग गरेको भन्दै विद्यालयले दाताहरुको प्रंशसा गरेको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी सहित ८५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया