पाँचथर । पाँचथरको यासोकमा भोलीदेखि संचालन हुने शिविरको अन्तिम तयारी पुरा भएको छ । कुम्मायक आधारभूत अस्पतालमा यासोकमा भोली जेठ १३ र पर्शि १४ गते हुने बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा २३ जना विशेषज्ञ डाक्टर, मेडिकल अफिसर सहित ५५ जना स्वास्थ्यकर्मी खटिने भएका हुन । नेपाली सेना बीरदल गण पाँचथरको आयोजना तथा कुम्मायक गाउँपालिकाको व्यावस्थापकीय सहयोगमा भोलीदेखि शिविर संचालन हुन लागेको हो ।
शिविर नेपाली सेना नं. २१ बाहिनी अड्डाको पहल, सैनिक अस्पताल इटहरी २१ फिल्ड गुल्मको सहभागीतामा बीरदल गण पाँचथरले आयोजनामा गर्ने भएको छ । शिविरको पुर्व तयारीको लागि बीरदल गणका सेनानी हरी बहादुर क्षेत्रीको नेतृत्वमा सेनाको टोली खटिएको छ । त्यस्तै कुम्मायक गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली समेत खटिएको कुम्मायक आधारभूत अस्पतालका डाक्टर एरिक बास्कोटाले जानकारी दिनुभयो ।
भोलीदेखि १४ गतेसम्म संचालन हुने शिविरमा सर्जरी, बालरोग, हाडजोर्नी तथा नसा रोग, छाला, यौनरोग, स्त्रीरोग, दन्तसेवा समेत संचालन हुनेछ । त्यस्तै सुगर, प्रेसर, मुटु, नाक–कान–घाटी, आँखा लगायतका सेवा उपलब्ध हुने अस्पतालका डाक्टर बास्कोटाले बताउनुभयो ।
दुई दिनसम्म संचालन हुने शिविरमा ल्याभ, माइनर ओ.टी. सेवा, भिडियो एक्सेरे, इसिजी प्रयोगशाला परिक्षण सहित निशुल्क औषधी र परामर्श सेवा प्रदान गरिनेछ । शिविरमा कुम्मायक गाउँपालिका सहित फिदिम नगरपालिका, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका २ हजार ५ सय बिरामीहरुलाई सेवा दिने लक्ष्य राखिएको छ । शिविर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने भएको हो ।
कुम्मायक गाउँपालिकामा बिशेषज्ञ डाक्टरको सहितको उपस्थितिमा हुन लागेको शिविर हालसम्मकै ठुलो हो । पहिलो पटक यति ठुलो शिविर आयोजना हुँदा गाउँपालिकाबासीले राहत पाउने गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया