पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी पीडितलाई कुम्मायकको २१ लाख बढि सहयोग


यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले बाढी पीडितहरुलाई ठुलो आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको बिनासकारी बाढीबाट धन जनको क्षति भएपछि कुम्मायक गाउँपालिकाले नगद रु २१ लाख ६५ हजार ५५० रुपैयाँ रकम सहयोग गरेको हो । भदौ १६ गते कुम्मायक गाउँपालिकामा बसेको कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।

गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधिहरुले प्राप्त गर्ने सुविधाबाट ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट ५ लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट १४ लाख ३२ हजार ५० रुपैयाँ गरी नगद रु २१ लाख ६५ हजार ५५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितहरुलाई सकेको सहयोग गर्न आग्रह समेत गरेको छ ।