Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गठबन्धनबाट महिला उम्मेद्वार शून्य, सात गाउँपालिकामा एमालेका महिला उपाध्यक्ष उम्मेद्वार « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गठबन्धनबाट महिला उम्मेद्वार शून्य, सात गाउँपालिकामा एमालेका महिला उपाध्यक्ष उम्मेद्वार

विपुल अधिकारी

फिदिम । पाँचथरमा सत्तारुढ गठबन्धनले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा एक जना पनि महिलालाई बनाएको छैन् । आठ स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले)ले भने सात गाउँपालिकाका उपाध्यक्ष पदका लागि महिलालाई उम्मेद्वार बनाएको छ ।

पाँचथरको फिदिम नगरपालिकामा सत्तारुढ गठबन्धन तथा एमाले नेतृत्वको गठबन्धन दुवैले नगर प्रमुख तथा उपप्रमुख पदमा पुरुष उम्मेद्वार बनाएका छन् । यहाँ एमाले नेतृत्वमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गरेका छन् । यो गठबन्धन फिदिम नगरपालिकाको प्रमुखमा पृथ्वी लावती तथा उपप्रमुखमा जगत थापा मगरलाई उम्मेद्वार बनाएको छ ।

सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले फिदिम नगरको प्रमुखमा मित्रप्रसाद काफ्ले र उपप्रमुखमा राधाकृष्ण न्यौपानेलाई उम्मेद्वार बनाएका छन् । मुख्य प्रतिस्पर्धी दुई पक्षले मुख्य पदमा पुरुषलाई मात्रै उम्मेद्वार बनाएको भएपनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सुनिता केरुङ, नेकपा (माले)ले पुण्यमाता घिमिरे र जसपाको एक पक्षले भावना इङ्वालाई उम्मेद्वार बनाएका छन् ।

बाँकी सात वटै गाउँपालिकामा सत्तारुढ गठबन्धनले दुवै पदमा पुरुष उम्मेद्वार बनाएको छ । महिला प्रतिनिधित्वको संवैधानिक अधिकार कुण्ठित गर्न नहुने वहस चलिरहँदा गठबन्धनले मुख्य पदमा कहिँ पनि महिलालाई नसमेटेको हो । जिल्लाका कतिपय स्थानीय तहमा जसपा, राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको एमालेले भने बाँकी सबै गाउँपालिकाको उपाध्यक्षमा महिलालाई उम्मेद्वार बनाएको छ । तर उक्त पक्षले पनि गाउँपालिका प्रमुखमा भने महिलालाई स्थान दिएको छैन् ।

जिल्लाको याङवरक गाउँपालिकामा सत्तारुढ गठबन्धनले अध्यक्षमा मविन्द्र योङया र उपाध्यक्षमा अर्जुन बेघालाई उम्मेद्वार बनाउँदा एमाले र जसपाले अध्यक्षमा सुवास योङया र उपाध्यक्षमा बाबा मेन्याङ्बोलाई उम्मेद्वार बनाएका छन् ।

हिलिहाङ गाउँपालिकामा एमालेबाट अध्यक्षमा भुवानीप्रसाद लिङदेन र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं उम्मेद्वार हुनुहुन्छ भने गठबन्धनबाट समरबहादुर अधिकारी अध्यक्ष तथा भवानीप्रसाद लिङदेन उपाध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ ।

फालेलुङ गाउँपालिकामा गठबन्धनबाट वीरविक्रम थाम्सुहाङ अध्यक्ष तथा महेन्द्रहाङ जबेगू उपाध्यक्षका उम्मेद्वार रहनुभएको छ । यहाँ एमालेबाट अध्यक्षमा जयप्रकाश केरुङ र उपाध्यक्षमा सुजाता बान्तवा राई उम्मेद्वार हुनुहुन्छ ।

फाल्गुनन्द गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको भएपनि अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेद्वार रहेका छन् । यी दुई दलले अध्यक्षमा वीरबहादुर कुरुम्बाङ तथा उपाध्यक्षमा बबिता नेम्वाङलाई उम्मेद्वार बनाएका छन् । यहाँ गठबन्धनले अध्यक्षमा बृजहाङ आङदेम्बे तथा उपाध्यक्षमा ठाकुरसिंह नेम्वाङलाई उम्मेद्वार बनाएको छ ।

जिल्ला कुम्मायक गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अध्यक्षमा बमप्रसाद लावती र उपाध्यक्षमा महेन्द्रबहादुर खड्का उम्मेद्वार हुनुहुन्छ । यहाँ एमालेले अध्यक्षमा भीमप्रसाद सम्बाहाम्फे र उपाध्यक्षमा सीता आचार्यलाई उम्मेद्वार बनाएको छ ।

जिल्लाको तुम्बेवा गाउँपालिकामा अध्यक्षमा एमालेले गोविन्दबहादुर तामाङ तथा उपाध्यक्षमा नन्द धमलालाई उम्मेद्वार बनाएको छ । एमालेले यहाँ दलित महिलालाई उपाध्यक्ष पदको उम्मेद्वार बनाएको हो । यहाँ सत्तारुढ गठबन्धनले अध्यक्षमा बाबुराम खड्का र उपाध्यक्षमा खड्गसुन्दर सम्बाहाम्फेलाई उम्मेद्वार बनाएको छ ।

जिल्लाको सुदूर दक्षिणी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनले अध्यक्षमा अमरराज माखिम तथा उपाध्यक्षमा सन्तकुमार शेर्मालाई उम्मेद्वार बनाएको छ । यहाँ एमालेले अध्यक्षमा नरेन्द्रकुमार बस्नेत तथा उपाध्यक्षमा धनमाया सारु मगरलाई उम्मेद्वार बनाएको छ ।

स्थानीय तहको प्रथम निर्वाचनबाट फिदिम नगरपालिकाको उपप्रमुख सहित छ वटा गाउँपालिकाको उपाध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनबाट जिल्लाको तुम्बेवा गाउँपालिकामा मात्रै दुवै प्रमुख पदमा पुरुष निर्वाचित भएका थिए । अहिले विशेषत सत्तारुढ गठबन्धनमा महिलालाई मुख्य जिम्मेवारी नदिएको भन्दै महिला नेतृहरुले तीब्र असन्तुष्टि ब्यक्त गरिरहेका छन् । प्रतिस्पर्धात्मक मत हाँसिल गर्न नसक्ने भएपनि यहाँका अन्य कतिपय स्थानमा साना दलहरुले महिलालाई उपाध्यक्षको उम्मेद्वार बनाएका छन् ।

१ लाख ४० हजार २२४ जना मतदाता रहेको पाँचथरमा ६६ हजार ६४८ जना महिला मतदाता छन् । यहाँका आठ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६० वटा वडाका वडाध्यक्ष र वडा सदस्य पदका लागि १०१ मतदान स्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदाताले मतदान गर्नेछन् ।