जनकपुरधाम । मधेश प्रदेशका सांसद विदेश्वर यादव ‘विक्की’ ले नेपाल र भारतबीच भएको कोशी सम्झौता रद्द गर्न माग गरेका छन् । सम्झौता बमोजिम भारतले काम नगरेको भन्दै त्यही कारण सप्तरीको दक्षिणी भेगका जनता समस्यामा पर्न थालेको बताए ।
बुधबारको प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले सप्तरीको दक्षिणी भेगमा ३२ किलोमिटरसम्म रहेको कोशी पश्चिमी नहरको डिलको सडक जीर्ण बनेको वर्षौ भइसकेको बताए । “सप्तरीको दक्षिणी क्षेत्रका जनताको प्रमुख सडकको रुपमा यो नहरको डिल रही आएको छ”, सांसद यादवले भने, “तर बर्षौदेखि जीर्ण छ । सम्झौता अनुसार मर्मत सम्भार गर्ने जिम्मा लिएको भारतले कुनै चासो नै दिएको छैन । जसका कारण बर्षभरि नै हिंडडुल गर्न समस्या भइरहेको छ ।”
४० बर्षदेखि सडक मर्मत नगरिएको भन्दै उनले सबैतिर ध्यानाकर्षण गराउँदा पनि कुनै निकायले चासो नदिएको बताए । उनले पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराएको र परराष्ट्र मन्त्रालयमार्फत् भारतीय राजदूतावासको ध्यानआकर्षण गराउँदा पनि चासो नदिनु बिडम्बना भएको बताए ।
सांसद यादवले भारतसँगको सम्झौता अनुसार नेपालले लगानी गरेर सडक मर्मत गर्न नमिल्ने भन्दै आफैं मर्मत गर्न सम्झौता रद्द गर्नुपर्ने बताए । “या त सम्झौता रद्द गरौं या सडक बनाउन पहल गरौं”, उनले भने । (अनलाइनवरबाट)
प्रतिक्रिया