पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले देशले राजनीतिक विकल्प खोजीरहेको बताएका छन् ।
‘वैकल्पिक राजनीतिक शक्ति समयको माग हो । भर्खरै सम्पन्न स्थानीय चुनावले यो यथार्थ स्थापित गरेको छ,’ राप्रपा प्रवक्ता लावतीले सोमबार सम्पन्न हिलिहाङ गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै भने ।
जनतामाझ राप्रपाको लोकप्रियता बढ्दै गएको दावी गर्दै, आगामी दिनमा राप्रपा राष्ट्रिय शक्ति बन्ने उनले दावी गरे ।
रोपाईको समयमा किसानलाई मलखाद्य उपलब्ध गराउन नसकेको, महंगी कालोबजारी नियन्त्रण गर्न चुकेको भन्दै लावतीले सरकारको आलोचना गरे ।
पूर्व केन्द्रीय सदस्य मानदेव केरुङले भूराजनीतिक सन्तुलन बिग्रीएको र वैदेशिक चलखेल बढेकोमा चिन्ता प्रकट गरे ।
‘नेपालको राजनीतिक नेतृत्वले भूराजनीतिक सन्तुलन कायम राख्न सकेको छैन । सरकार परराष्ट्रको क्षेत्रमा समेत असफल भएको छ, यो नै हाम्रो लागि टाउको दुखाई बन्ने अवस्था विकसित भएको छ,’ उनले भने ।
पूर्व केन्द्रीय सदस्य राजकुमार जोशीले भने, ‘पार्टी संगठनलाई प्रभावकारी बनाउन पार्टीका विभिन्न तहगत नेतृत्वले आ–आफ्नो तहको संस्थागत दायित्व पूरा गर्नु पर्दछ । अन्यथा, पद ओगटेर बस्नु मनासिब हुँदैन । पद पनि ओगट्ने, काम पनि नगर्ने जस्ता गलत प्रवृत्ति पार्टी भित्रबाट दूर गर्नु पर्दछ ।’
हिलिहाङ गाउँपालिका अध्यक्ष घनेन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी संसदीय निर्वाचन तयारी सम्बन्धी छलफल गरिएको थियो ।
प्रतिक्रिया