ताप्लेजुङ । डेढ किलोमिटर सडक खन्न बाँकी रहँदा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माणको काम रोकिएको छ । मन्त्रिपरिषद् बैठकले यो क्षेत्रमा पर्ने रूख कटानको निर्णय गरे पनि कार्यान्वयन नहुँदा काम रोकिएको हो । उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका अनुसार सुकेपानीमा पुगेपछि निर्माणको काम ठप्प छ ।
यहाँ एसबीए एलाइट जेभी कम्पनिले काम गर्दै आएको थियो । २०७९ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले कटान आदेशको निर्णय गरेको छ । यो निर्णय विभाग हुँदै कञ्चनजंघा संरक्षण क्षेत्रमा आउनुपर्छ । संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले अहिलेसम्म निर्णय नआएको बताउॅंछन । ‘मन्त्रिपरिषद्ले नियमानुसार गर्नू भन्ने निर्णय गरेको भन्ने सुनेको छु,’ उनले भने, ‘यदि यो निर्णय भए वृक्षरोपणका लागि त्यति नै जग्गा खरिद गरेर संरक्षण क्षेत्रलाई दिनुपर्छ अनि मात्रै प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार यहॉं ३१ हेक्टर जमिनको ६ सय २७ वटा रूख हटाउनुपर्छ । आफूहरूले दुई वर्षअघि नै यो सिफारिस गरेको भए पनि सरकारले भर्खर मात्रै निर्णय गरेको फेम्बूले बताए ।
कम्पनिका प्रोजेक्ट म्यानेजर राजिव लामिछानेका अनुसार काम रोकिँदा ८ वटा मेसिन साइटमा थन्किएका छन् । बाँकी रहेको डेढ किलोमिटरमध्ये सात सय मिटर कडा चट्टान रहेको र अनिवार्य विस्फोट गर्नुपर्ने उनी बताउँछन् । यसअघि ब्रेकरले फुटाउने प्रयास गर्दा १७ दिनमा २ मिटर मात्रै खोल्न सकेको उनले बताए । राजीवले भने, ‘अब ब्लास्टिङ गर्दा रुखमा क्षति हुने भएकाले पहिला कटान गरेर मात्रै गर्नुपर्ने भयो ।’ सरकारले कटान गर्ने र पड्काउने दुवै निर्णय गरेको सडक कार्यालयले जनाएको छ ।
उक्त लोकमार्गको ओलाङचुङगोला सडक कार्यालयका डिभिजनल इन्जिनियर ९डीई० अमिन्द्र खड्काका अनुसार जग्गाको क्षतिपूर्ति स्वरूप रकम उपलब्ध गराउने भए तत्काल प्रक्रिया अघि बढ्छ । ‘राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु विभागलाई रकम दिने वा जग्गा उपलब्ध गराउने भन्ने हुँदो रहेछ,’ खड्काले भने, ‘पैसा दिन मिल्ने भए अर्थ मन्त्रालयबाट पत्र पनि प्राप्त भएको छ, तत्काल दिन सकिन्छ, जग्गाको सट्टा जग्गै भन्ने भयो भने चाहिँ प्रक्रिया लम्बिन्छ, गाह्रो छ ।’
पैसा दिँदा हुने भए बढीमा तीन महिनामा ट्र्याक खोल्ने काम पुरा हुने उनले बताए । नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङदेखि सुकेपानी छेउसम्म ट्र्याक खुलेको छ । बाँकी डेढ किलोमिटर खन्नासाथ ट्र्याक खोल्ने काम पूरा हुन्छ । चीनमा कोरोना संक्रमण देखिनुअघि चीनको डिङजे काउन्टीबाट मेशीन ल्याएर सिमानातर्फको ट्र्याक खोलिएको थियो । कार्यालयका अनुसार गोलाको बस्तीदेखि सदरमुकाम तर्फको ३२ किलोमिटर ट्र्याक खोलिएको छ । तापेथोक र लेलेपको सीमाना रानी पुलबाट सुरु गरेको यो कम्पनिले सदरमुकाम तर्फको रानीपुलबाट साढे २४ किलोमिटर गरी करिब ५७ किलोमिटर ट्र्याक खोलेको छ ।
सदरमुकामबाट ट्रयाक खुलेका ठाउसम्म यातायात चल्छ । ओलाङचुङ गोलादेखि सिमानासम्म २४ किलोमिटर छ । ४२ करोडको ठेक्काको समयावधि जेठ मसान्तमा सकिने पनि कार्यालयले जनाएको छ । जग्गा विवादका कारण लेलेपमा डेढ महिना रोकिनु पर्दा र कोरोना संक्रमणका कारण निर्धारित समयमा सक्न कठिन भएको निर्माण कम्पनिका प्रवन्धक पेम्वा शेर्पा बताउॅछन ।
अन्तर्देशीय यो सडक सम्पन्न हुँदा टिप्ताला भञ्ज्याङदेखि नेपाल–भारत सिमाना विराटनगरको रानीसम्मको दूरी ३ सय ४० किलोमिटर हुन्छ । रानी भन्सारदेखि मुलघाट ८३ र मूलघाटदेखि टिप्ताला भन्ज्याङसम्म २ सय १७ किलोमिटर दूरी छ । कान्तिपुरबाट साभार
तस्वीरः सांकेतिक
प्रतिक्रिया