पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन

चिन्तन खबर

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुशेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

आज पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ ।
महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।

औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।

पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।

औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।