पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशमी–आरुबोटे–लिम्बा सडक कालोपत्रको शिलान्यास

चिन्तन खबर

फिदिम । रणनीतिक सडकका रुपमा विकास गर्ने उद्देश्यसहित दशमी–आरुबोटे–लिम्बा सडक कालोपत्रे कार्यको आज पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभएको छ ।

आज दशमी बजारमा आयोजित एक कार्यक्रमका पूर्वमन्त्री नेम्वाङले सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो । करीव रु. ४० करोड लागत अनुमान गरिएको यो सडकको लम्बाई ७ दशमलव ६ किलोमिटर रहेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत रु. २३ करोड चार लाख ३७ हजार लागतमा उक्त सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ ।

आसपाल्ट कङ्क्रिट गरिने यो सडक कालोपत्रेको ठेक्का खरिदुंगा गोल्मेश्वर जेभीले पाएको छ । ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार निर्माण कम्पनीले काम थालेको जनाएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक कालोपत्रका लागि २०७७ चैत १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सडकहरुको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुभएको थियो ।

आज आयोजित शिलान्यास कार्यक्रपछि आफ्नो धारणा राख्दै पूर्वमन्त्री नेम्वाङले ओझेलमा परेका तर अत्यावाश्यक सडकको सुधारका लागि तत्कालीन सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण अघि बढाएको वताउनुभयो । उहाँले आफूले छनौट गर्न पाउने एक आयोजनाका लागि जिल्लाको दुर्गम मानिने क्षेत्रको दशमी–आरुबोटे–लिम्बा सडक छनौट गरी यस क्षेत्रका सर्वसाधारणको समस्या समाधानको प्रयास गरेको वताउनुभयो । उहाँले निर्धारित समयमै निर्माण कार्य पूरा गर्न निर्माण ब्यवसायीलाई आग्रह समेत गर्नुभयो ।

उहाँले अघिल्लो सरकारले अघि बढाएका स्थानीय स्तरमा अत्यावाश्यक परेका १४०० वटा सडक आयोजना वर्तमान सरकारले कटौती गरी नागरिकलाई अन्याय गरेको वताउनुभयो । “चिन्ता छ – १४ सय सडक हराए । अब अरु के के हराउने हुन् ? यो निर्वाचन क्षेत्र रणनैतिक सडक चाहिँ हराउन सकेनछन्”, उहाँले भन्नुभयो ।

२०७४ सालको निर्वाचनमा पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचन भई संसद्को कार्यकाल सकिने दिने दशमी–आरुबोटे–लिम्बा सडक कालोपत्रेको शिलान्यास गर्न पाउँदा आफू हर्षविभोर भएको नेम्वाङले वताउनुभयो । “आज प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन यस्तो महत्वपूर्ण कार्यमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो”, नेम्वाङले भन्नुभयो, “आशा छ, यो सडक समयमै निर्माण सम्पन्न भई यस क्षेत्रका आमा बुवा, दाजुभाई तथा दिदीबहिनीले सुख सुविधा पाउनु हुनेछ ।” जिल्लामा आफूले धेरै वटा महत्वपूर्ण योजनाहरु अघि बढाएको भन्दै नेम्वाङले आगामी निर्वाचनबाट पुनः निर्वाचित भई ती योजना सम्पन्न गर्ने आफ्नो इच्छा रहेको वताउनुभयो ।