पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

चिन्तन खबर

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

आज हुने पहिलो क्वाटरफाइनलमा क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ । हुन त यसपटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा भने ब्राजिल अपराजित छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्‍याउने दाउमा छ ।

चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ । तर उसको यात्रा भने सहज छैन, कारण क्वाटरफाइनलमै पाँच पटकको विजेता ब्राजिलसँग क्रोएसियाको भेट हुँदैछ ।