Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
निर्वाचन आयोगले यसै ‘साताभित्र’ चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई ‘बुझाउने’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

निर्वाचन आयोगले यसै ‘साताभित्र’ चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई ‘बुझाउने’

चिन्तन खबर

काठमाडौं । निर्वाचन आयोगले यसै साताको अन्त्यसम्ममा आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जानकारी दिएको छ।

प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा सदस्यहरू तय भइसकेको तथा समानुपातिकमा पनि प्रतिनिधिसभातर्फ सदस्य तय भएकाले अब चाँडै प्रतिवेदन तयार हुने आयोगको भनाइ छ। यद्यपि समानुपातिकतर्फ प्रदेशसभाका लागि दलहरूले दिएको नामावलीमा कतिपय कुराहरू नमिलेकाले त्यसलाई सच्याउन आयोगले सोमवार अपराह्ण ४ बजेसम्मको समय दिएको जनाएको छ।

प्रदेशतर्फका पनि सबै सदस्य तय भइसकेपछि आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार आयोगले आगामी शुक्रवारसम्ममा प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

“अहिलेसम्मका हिसाबले हामीले मङ्सिर २९ गते राष्ट्रपति ज्यूलाई प्रतिवेदन बुझाउने तयारी गरेका छौँ,” उनले भने, “सम्भवतः त्यस बेलासम्म प्रतिवेदन तयार पारेर बुझाउँछौँ होला।” आयोगले राष्ट्रपतिसमक्ष सात वटा प्रदेशका छुट्टाछुट्टै विवरण समेटिएका र प्रतिनिधिसभाको छुट्टै गरी आठ खाले विवरण समेटिएको प्रतिवेदन बुझाउने अधिकारीहरूले बताएका छन्।

निर्वाचनको अन्तिम नतिजा आएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने प्रावधान रहेको छ। आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ सबै दलहरूले समानुपातिकतर्फबाट बुझाएको सदस्यहरूको नाममा सच्याउनुपर्ने अवस्था देखिएको छैन।

तर प्रदेशसभातर्फ भने पाँच वटा प्रदेशमा सच्याउनुपर्ने अवस्था छ। “प्रतिनिधिसभा र गण्डकी तथा कर्णाली प्रदेशमा दलहरूले बुझाएको नाम समावेशी समानुपातिक सिद्धान्त र नियम अनुसार देखियो तर अन्य प्रदेशसभाका लागि केही नमिलेको पाइयो,” उनले भने।

“त्यसैले ती प्रदेशहरूका विभिन्न पाँच दलहरूलाई उनीहरूको सूची नमिलेकाले मिलाएर पेस गर्नका लागि हामीले सोमवार चार बजेसम्मको समय दिएका छौँ। त्यस बेलासम्म सूची पेस नभएमा कानुन अनुसार प्रक्रिया अघि बढ्छ भनेर पनि हामीले दलहरूलाई पत्राचार गरिसकेका छौँ।” उनले सोमवारसम्म दलहरूले नाम सच्याएर पेस गर्ने अपेक्षा गरेको बताए।

यसैबीच निर्वाचन आयोगले आम निर्वाचनका कारण गत असोज १२ गतेदेखि लागु गरेको निर्वाचन आचारसंहिता सोमवारदेखि अन्त्य हुने जनाएको छ।आयोगले आइतवार त्यस्तो निर्णय गरेको बताइएको छ। उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूलाई पनि दिएको आयोगले जनाएको छ।

निर्वाचनको परिणाम आइसकेको र आयोग राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारीमा रहेकाले आचारसंहिता अन्त्य गरिएको बताइएको छ। आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाएपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्ने गर्छ। निर्वाचनको अन्तिम नतिजा आएको ३० दिनभित्र राष्ट्रपतिले संसद्‌ बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

त्यसै अनुसार उक्त प्रतिवेदन पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नेछिन्। संसद् बैठक बोलाइएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था संविधानमा रहेको छ। त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्छ।

त्यसपछि सभामुख, उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपतिको चयनको प्रक्रिया पनि अघि बढ्छ। सुरुको संसद् बैठक भने संसद्‌का ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने व्यवस्था गरिएको छ। त्यस्ता ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराउँछिन् भने ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथग्रहण गराएपछि प्रत्यक्ष वा समानुपातिकबाट चयन भएका व्यक्ति औपचारिक रूपमा सांसद बन्छन्। (बीबीसी नेपालीबाट)