Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बाढीले रुख ल्याइदिएपछि माझीटारमा काठको डुङ्गा पुनः सञ्चालनमा (फोटो फिचरसहित) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बाढीले रुख ल्याइदिएपछि माझीटारमा काठको डुङ्गा पुनः सञ्चालनमा (फोटो फिचरसहित)

चिन्तन खबर

फिदिम । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनः सञ्चालनमा ल्याइएको छ ।

विगतमा वटुवाहरुको नदी पार गर्ने एकमात्रै माध्यमका रुपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारका १० जना युवाहरुले डुङ्गा पुनः सञ्चालनमा ल्याएका हुन् ।

पाँचथर र तेह्रथुमको सीमा भई बग्ने तमोर नदीको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती क्षेत्रमा गत साताबाट डुङ्गा सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालकमध्येका एक वीरबहादुर माझीले वताउनुभयो ।

माझी समुदायका युवाहरुले केही समयदेखि काठको डुङ्गा सञ्चालनका लागि प्रयास गरिरहेका थिए । तर उपयुक्त रुख यहाँ नजिकै नभेट्टिदाँ उनीहरुको प्रयास सार्थक भएको थिएनँ । गत वर्षायाममा तमोर नदीमा आएको भेलले बगाएर ल्याएको ठूलो रुख पाँचथरपट्टीकै नदी किनारामा अडिएपछि उनीहरुको प्रयास सार्थक भएको हो । सोही रुखलाई काटेर डुङ्गा बनाई सञ्चालनमा ल्याइएको हो ।

काठको डुङ्गा सञ्चालनमा आएपछि यहाँ जलयात्रा गर्न जानेको सङ्ख्या बढेको छ । चिसो मौसममा पनि न्यानो रहने यस क्षेत्रमा अहिले वनभोज खान जानेको लर्को नै लाग्ने गरेको छ । यही मौकामा जलयात्रा गर्न पाइने भएपछि यहाँ पुग्ने धेरैले यो मौकाको फाइदा लिने गरेका छन् ।

सुरुआत भएकाले डुङ्गामा शयर गरेको शुल्क यकिन नगरिएको सञ्चालक वीरबहादुरको भनाई छ । “अहिले प्रतिब्यक्ति रु. १०० देखि माथि नै दिइरहनु भएको छ”, वीरबहादुरले भन्नुभयो । असोज–कात्तिक महिनादेखि वैशाक–जेठसम्म डुङ्गा चलाउन सकिने उहाँको भनाई छ । बावुबाजेबाटै आफूहरुले शीप सिक्न पाएको र शीपको उपयोग गर्न पाउँदा खुशी लागेको वीरबहादुरले वताउनुभयो ।

डुङ्गा सञ्चालनले परम्परागत पेशाको निरन्तरता रहने र राम्रो रकम सङ्कलन भएमा अर्को डुङ्गा निर्माण गरी सञ्चालन गर्ने युवाहरुको योजना छ । माछा मार्ने, डुङ्गा चलाउनेजस्ता परम्परागत पेशा लोप नहोस् भन्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको र यस स्थानमा डुङ्गा सञ्चालनको परम्परा भावी पुस्तासम्म हस्तान्तरण हुने अपेक्षा राखिएको अर्का युवा प्रकाश माझीले वताउनुभयो ।

डुङ्गा चढेर जलयात्रा गर्नुभएका फिदिम नगरपालिका–४ जोरसालका विजय राई विगतमा नदी तर्ने माध्यमका रुपमा रहेको डुङ्गाको पुनः सञ्चालनले माझीटार क्षेत्रका स्थानीयवासीको आयआर्जन वृद्धि हुनुका साथै मौलिक संस्कृतिको जगेर्नामा मद्दत पुग्ने वताउनुहुन्छ । “काठको डुङ्गा चढेर नदी पार गर्दा साँच्चै रमाइलो हुने रहेछ”, राईले भन्नुभयो, “यो काम निरन्तर भए यहाँ आउने सबैले रमाइलो गर्न पाउँथे ।”

माझीटार समुदायका अगुवा जसबहादुर माझीका अनुसार २०५३ सालमा पाँचथर–तेह्रथुम जोड्ने झोलुङ्गे पुल निर्माण हुनुअघि यहाँ डुङ्गा नै नदी पार गर्ने माध्यम थियो । सो समय नदीमा स–सानो भेलबाढी आएका समयसमेत डुङ्गा सञ्चालन गरेर बटुवालाई गन्तब्यसम्म पुग्न सहयोग गर्ने गरिएको थियो ।

डुङ्गाबाट नदी पार गराएवापत पैसाका अतिरिक्त चामल, दाल, सागशब्जी समेत लिने गरिएको थियो । पाँचथर सहित इलाम र झापा हुँदै वटुवाहरु यही बाटो हुँदै तेह्रथुम र दक्षिणी ताप्लेजुङसम्म जाने गर्दथे ।

सञ्चालन भएका वखत सल्ला र सिमलको रुखबाट डुङ्गा निर्माण गर्ने गरिएको थियो । डुङ्गा बनाउन तथा नदीसम्म पु¥याउन यस क्षेत्रका सबै स्थानीयवासीले सहयोग गर्ने गरेका थिए ।

डुङ्गा बनाइएपछि युवाहरु स्वरोजगार हुनुका साथै यहाँ सञ्चालित पेशा ब्यवसायको सम्वद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको जसबहादुरको भनाई छ । युवाहरुसँग रोजगारीका अवसर नभइरहेको अवस्थामा डुङ्गा सञ्चालन एक आकर्षक माध्यम हुनसक्ने उहाँले वताउनुभयो ।

यस क्षेत्रमा ४० घर माझी समुदायको वसोबास छ । यहाँका कतिपय माझी युवाहरुले माछा मार्ने तथा माछाजन्य सामग्री विक्रीका लागि स–साना होटेल समेत सञ्चालन गरेका छन् ।