विराटनगर । प्रदेश नं. १ को मन्त्रिमण्डल थप तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का वुद्धिकुमार राजभण्डारी र नेकपा (माओवादी केन्द्र)का दुर्गाप्रसाद चापागाई र जीवन आचार्यलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त तीनै जना मन्त्रीले आज प्रदेश प्रमुख परर्शुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विनाविभागीय नै राखेका छन् ।
यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । मन्त्रीहरुको बरियतामा कार्कीपछि मेन्याङ्बो छन् भने तेस्रो बरियतामा चापागाई छन् । यस्तै चौथोमा राप्रपाका सिटौला, पाँचौमा माओवादीका आचार्य, छैटौंमा एमालेका राजभण्डारी र सातौंमा जसपाका निर्मला लिम्बूलाई राखिएको छ ।
प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै मुख्यमन्त्री नियुक्तिका समयमा माओवादी केन्द्र प्रदेश सरकारमा सामेल भएको थिएन । तर केन्द्रको निर्देशनपछि सभामुख पद लिँदै माओवादी सरकारमा सामेल भएको हो ।
माओवादीबाट मन्त्री बनेका जीवन आचार्य प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाईं हुन् । जनयुद्धमा सामेल नभएको तथा छोटो समयमै पार्टीको केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री हुन लागेको भन्दै माओवादी केन्द्रका कतिपय सांसद् र नेताहरुले विरोध गरेपनि आचार्य मन्त्री बनेका हुन् । उनी तत्कालीन पाँच दलीय गठबन्धनबाट काँग्रेस नेता शेखर कोइराला निर्वाचित भएको मोरङ क्षेत्र नं. ६ को १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् ।
प्रतिक्रिया