Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रतिनिधि सभाको सभामुखमा घिमिरे र न्यौपानेको उम्मेदवारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रतिनिधि सभाको सभामुखमा घिमिरे र न्यौपानेको उम्मेदवारी

चिन्तन खबर

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा दुई जना सांसद्को उम्मेदवारी परेको छ । सभामुखमा सरकारमा सामेल दलको तर्फबाट नेकपा (एमाले)का सांसद् देवराज घिमिरे र सरकारमा सामेल नभएका दलका तर्फबाट नेपाली काँग्रेसकी इश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको हो ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर घिमिरेले दिउँसो १ बजे तथा न्यौपानेले अपराह्न करिब ४ बजे उम्मेदारी दिएका थिए । सभामुखको निर्वाचन भोलि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

घिमिरेको उम्मेदवारीको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् भने न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

मनोनयन दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएको खण्डमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताए ।

उनले भने, “म त्यो जिम्मेवारीमा पुग्ने निश्चत नै छ, विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वग्रहबाट टाढा रही यथार्थ ढङ्गले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ, सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु ।”

अर्का उम्मेदवार न्यौपानेले प्रतिनिधिसभाका सदस्यको मतले आफू निर्वाचित हुन्छु भन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, “सभामुखमा निर्वाचित भइसकेपछि सबैको सभामुख हुने भएकाले सभा सञ्चालन गर्दा तटस्थ रही संसद् र सांसदप्रति न्याय गरी सकेसम्म राम्रो ढङ्गले सदन चलाउँछु भन्ने प्रण गर्छु ।”