विराटनगर । झापा घर बताउने एक महिला माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकको एउटा होटलमा काम खोज्दै पुग्छिन । आफ्नो घर झापा भएको र २७ वर्ष उमेर बनाउने ती महिलाको साथमा एक १४ वर्षीया बालिका पनि थिइन्।
महिलाले ती बालिका आफ्नी दिदीकी छोरी भएको वताइन् । काम खोज्दै पुगेकी महिलालाई होटल सञ्चालकले होटलको काममा सघाउने गरी उनलाई काम दिने बताए । तर इमान्दारीपूर्वक काम गर्नुपर्ने शर्त राखेर उनले काममा लगाए ।
यसरी होटलमा काम खोज्दै महिला आएको कुरा सोही होटलमा केही दिनदेखि बसिरहेका दुई जना भारतीय नागरिकले देखिरहेका थिए । कामको खोजीमा आएकी महिला र बालिकालाई नियालिरहेका उनीहरूले राम्रो काममा लगाइदिने प्रलोभन देखाउन थाले।
काम खोजिरहेकी महिला पनि होला भनेर विश्वास गर्न थालिन । कुरा गर्नु छ भनेर उनीहरुले ती महिलालाई अर्को होटलमा लगे र जबरजस्ती गरे । उनीहरु यतिमै रोकिएनन् । महिलालाई भारत लैजाने भए ।
मानव ओसारपसारविरूद्ध काम गरिरहेको संस्था साना हातहरू नेपालका दिवस श्रेष्ठका अनुसार महिला र बालिकालाई भारत लैजाँदै गर्दा संस्थाको टोलीले शंका लागेर रोक्यो । उनीहरु आफन्त नभएको थाहा पाएपछि नियन्त्रण लिइयो ।
नियन्त्रणमा लिएपछि घटनाबारे खुलासा भयो । यसरी ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई प्रहरीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दा अघि बढाएको छ । मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया