बिराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–१ मा लागूऔषध बिक्री भइरहेको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका दमक–७ का २३ बर्षीय रविन कटुवाल र उनकी श्रीमती २१ बर्षीया अनिता विकलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सोही दिन मोरङको बिराटनगर महानगरपालिका–१५ ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकलको ट्याङकी मुनि लुकाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । लागूऔषध फेला परेसँगै मोटरसाइकलमा सवार धरान–८ का ३० बर्षीय जंगमनि मगर र धरान–७ का २७ बर्षीय बिक्रम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया