पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकुदप्रति बेवास्ताको उदाहरण पाँचथरको राष्ट्रपति रनिङ शिल्ड

चिन्तन खबर

फिदिम । विद्यालय तहका विद्यार्थीले आफ्नो खेल कौशल प्रस्तुत गर्ने महत्त्वपूर्ण माध्यम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नै सरोकारवालाको बेवास्ता र लापरवाहीमा परेको छ ।

विहीवारबाट फिदिम नगरपालिका–१० स्थित खलङ्गाटार माध्यमिक विद्यालयको खेल मैदानका सुरु भएको अन्तरपालिका जिल्ला स्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सञ्चालन ब्यवस्थित हुन नसकेको हो । माध्यमिक तहका विद्यार्थीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता माध्यमिक तहका विभिन्न कक्षा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) आउनै लाग्दा आयोजना गरिएपछि धेरै विद्यार्थीले प्रतियोगितामा भाग लिन पाएनन् ।

स्थानीय तहहरुले चैत पहिलो साताको अन्त्यबाट कक्षा ५ र ८ को पालिकास्तरीय वार्षिक परीक्षा गर्न लागेका छन् । यी कक्षासँगै अन्य कक्षाको पनि वार्षिक परीक्षा हुने गर्दछ । तर प्रतियोगिता वार्षिक परीक्षा तयारी गर्नुपर्ने समयमा आयोजना गरिएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । जिल्लाका आठ वटै स्थानीय तहमा माघ र फागुनका विभिन्न सातामा सञ्चालित अन्तर विद्यालय पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएको लामो समयपछि फागुन २८ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समितिले सूचना जारी गरेको थियो ।

तर फागुन २८ गते बन्दको प्रभाव पर्ने भन्दै चैत १ गतेबाट आयोजना गरिएको प्रतियोगितामा जिल्लाको तुम्बेवा गाउँपालिकाका कुनै पनि विद्यालय सहभागी भएका छैनन् । फिदिममै प्रतियोगिता आयोजना भएको भएपनि फिदिम नगरपालिका सहित हिलिहाङ, फालेलुङ, र कुम्मायक गाउँपालिकाले प्रतियोगिताको अपनत्व लिएको पाइन्न । प्रतियोगितामा मिक्लाजुङ, याङवरक र फाल्गुनन्दले मात्रै गाउँपालिकाको ब्यानर सहित कर्मचारी, शिक्षक र खेलकुद विकास समितिका पदाधिकारीलाई प्रतियोगितामा पठाएका छन् ।

प्रतियोगितामा स्थानीय तहले अपनत्व नलिएको शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङको भनाई छ । “पालिकाले अपनत्व लिएर एकै ब्यानर पालिकाको अभिभावकत्वमा विद्यार्थीलाई प्रतियोगितामा सामेल गराउनु पथ्र्यो”, सवेहाङले भन्नुभयो, “यसमा आयोजक र सरोकारवालाको समन्वय र भूमिका निकै कमजोर देखियो ।” प्रतियोगिताको आयोजना र ब्यवस्थापनका विषयमा विद्यालयहरुले आफूसँग गुनासो राखेको भन्दै सवेहाङले यस प्रकारका कार्यले प्रतियोगिताको गरिमा र महत्त्व घट्ने वताउनुभयो ।

प्रतियोगिताको ब्यवस्थापन फितलो हुनुका साथै स्थानीय तहको सहभागिता कमजोर रहेको पाइएपछि प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सम्मानित पदको नाममा आयोजित प्रतियोगिताको ‘बद्नाम’ हुन नदिने अवस्था बनाउन आग्रह गर्नुभयो । “यस्तो सम्मानित नामलाई अपमानित हुने स्थिति बन्नबाट रोक्न सबै स्थानीय तह र आयोजकले भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतियोगिताको उद्घाटनमा फिदिम नगरपालिकाका प्रमुख सहित कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनुहुन्थ्यो । तर याङवरक, फाल्गुनन्द र मिक्लाजुङ बाहेकका पालिकाले विद्यालयहरुलाई प्रतियोगितामा सहभागी हुनु भनेर आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् । अन्तर विद्यालय पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरेको तुम्बेवा भने कुनै जानकारी नै नदिई जिल्लास्तरीय प्रतियोगितामै सहभागी भएन ।

प्रतियोगिताको ब्यवस्थापन कमजोर हुँदा धेरै समय खेलकुदका कार्यक्रम अघि बढ्न सकेनन् । १० बजे उद्घाटन कार्यक्रम हुने पत्र पठाएको खेलकुद विकास समितिले विहान ८ बजेबाटै दौड र उस्सुका खेल अघि बढाएको थियो । उद्घाटनअघि नै खेलकुद सुरु भएपछि सबैभन्दा सुदूरदक्षिणको पालिकाका विद्यार्थीले कतिपय स्पर्धामा भाग लिन पाएनन् । यस्तै मैदान सहज नहुँदा भलिवल, एथ्लेटिक्स, कवड्डी लगायतका खेल प्रभावित भएका छन् । प्रतियोगिताको ब्यवस्थापनमा आयोजकले प¥याप्त सल्लाह नगरेको र सहयोग नमागेको फिदिम–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले वताउनुभयो ।

प्रतियोगितामा १३० स्वर्ण, सोही संख्यामा रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दुस्यन्त बस्नेतले वताउनुभयो । प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उस्सुका विभिन्न विधामा प्रतिस्र्धा हुँदैछ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले उद्घाटन गर्नुभएको थियो ।