फिदिम । पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो ।
मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैंचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन इकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।
मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागती सहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्स जस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बालीहरु छन् । कार्यक्रम कोशी प्रदेशमा ७ जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा २२०० हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यान्वयनका लागि कृषकहरुले प्रत्येक ब्लकमा १ हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनु पर्छ । जसमा एक जना किसानले न्यूनतम ४ रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले ब्यवस्था गरेको छ ।
आयोजना कार्यान्वयनका लागि स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन हुने र सोही समितिले आयोजना कार्यान्वयन हुने क्षेत्र, अनुदान ब्यवस्था लगायत निर्णय गरी सिफारिस गर्ने ब्यवस्था गरिएको छ । आयोजनाको स्किम–२ अन्तर्गत उद्यमी/कृषक समूह/सहकारीलाई फलफूल बगैंचा तथा तरकारी फार्म विकासमा ५० प्रतिशत अनुदान, स्किम–३ मा आयोजना लक्षित बालीहरुको मूल्य अभिवृद्धिमा ५० प्रतिशत अनुदानका कार्यक्रम समावेश गरिएको आयोजनाका प्रदेश प्रमुख डाँगीले जानकारी दिनुभयो ।
आयोजनाको अनुगमन रुपरेखाअनुसार स्न २०३० सम्ममा लाभग्राही कृषकको कृषि आयमा १० प्रतिशतले वृद्धि गर्ने, आयोजना लागू भएका ५० स्थानीय तहले कम्तिमा ५० प्रतिशत कृषक घरपरिवारमा कृषि सूचना परामर्श प्रदान गर्ने, कम्तिमा ४० वटा नर्सरीसँग साझेदारी गर्ने, कम्तिमा १० वटा निजी नर्सरीमा रोगमुक्त विरुवा उत्पादन गर्न सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ ।
आयोजना आर्थिक वर्ष २०८६/०८७ सम्म सञ्चालन हुने छ । आयोजनाले मुख्यतः एक पालिकामा १०० हेक्टरको बगैंचा स्थापना गर्ने सोच राखेको आयोजनाका प्रदेश प्रमुख डाँगीको भनाई छ ।
आयोजना सञ्चालनबारे शुक्रवार फिदिममा जनप्रतिनिधि तथा सरकोरवालाहरुसँग आयोजित अन्तरक्रियाका सहभागीहरुले लक्षित बालीहरु थप गर्नुपर्ने, सिंचाईको सुविधा विस्तार गर्नुपर्ने तथा बाली फलदिन सक्षम नभएसम्म कृषकलाई अतिरिक्त अनुदान अनुदान दिनुपर्ने सुझाव दिए ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले बजार सुनिश्चित गर्न, वास्तविक कृषकले सहजै आयोजनाको लाभ लिन तथा अनुदान प्राप्त गर्ने ब्यवस्था गर्न, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । कृषक समूह महासंघका गणेशप्रसाद पोखरेलले उत्पादित फलफूल तथा काष्ठफलको बजार सुनिश्चितताका लागि घरेलू उद्योग स्थापना तथा प्रशोधनको ब्यवस्था गर्न सुझाव दिनुभयो ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले कार्यक्रमको प्रभावकारिताका लागि सिंचाई बाधक हुनसक्ने भन्दै सोको प्रवन्ध गर्न आग्रह गर्नुभयो । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कम आय भएका परिवारको आयस्तर उकास्न कार्यक्रमलाई सदुपयोग गर्ने योजना नगरपालिकाले बनाउने वताउनुभयो । यस्तै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया