पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिवाभञ्ज्याङमा नाका खोल्न सिक्किमका मुख्यमन्त्री तामाङको चासो

चिन्तन खबर

फिदिम । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङमा नाका विस्तार गर्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाउनुभएको छ ।

मंगलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका मुख्यमन्त्री तामाङले चिवाभञ्ज्याङ सीमालाई सिक्किम, भारत र नेपाललाई नै फाइदा पुग्ने गरी नाका खोल्न प्रदेश सरकार लागिपरेको वताउनुभयो । “यो सीमालाई कसरी फाइदाजनक बनाउने भनेर हामी सरकारमा आएपछि लागिरहेका छौं” मुख्यमन्त्री तामाङले भन्नुभयो, “मैले बारम्बार नीति आयोगका सभामा उठाउने गरेको छु ।”

आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई चिवाभञ्ज्याङमा नाका खोल्न भनिसकेको मुख्यमन्त्री तामाङको भनाई छ । “भारत सरकार एकदमै पोजेटिभ छ यो विषयमा । र, भारत सरकारले यो विषयमा पहल सुरु गरिसकेको छ”, मुख्यमन्त्री तामाङले भन्नुभयो । चिवाभञ्ज्याङलाई नाकाका रुपमा विकास गर्ने उद्देश्यले नै सिक्किम राज्य सरकारले ५६ करोड भा.रु. खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ सडक विस्तार गरेको छ ।

नेपालका तर्फबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ । उक्त राजमार्गको उद्गम विन्दू पनि चिवाभञ्ज्याङ हो । पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ मा पर्ने चिवाभञ्ज्याङमा नाका खोल्न याङवरक गाउँपालिका सहित यस क्षेत्रका नागरिकले माग गरिरहेका बेला सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल थाल्ने वताएको हो ।

चिवाभञ्ज्याङसम्म नेपालका तर्फबाट उक्त राजमार्ग कालोपत्रेको कार्य दुई वर्षअघि नै सुरुआत भएपनि निर्माण ब्यवसायीको लापरवाहीले कालोपत्रे भने हुन सकेको छैन् । वन अतिथि गृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ आइपुग्नुभएका मुख्यमन्त्री तामाङले सिक्किमबाट चिवाभञ्ज्याङसम्म विस्तार भएको सडकलाई वहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको वताउनुभयो ।

चिवाभञ्ज्याङमा अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई ‘दुई लेनको मल्टिपल कोरिडोर’ बनाउने वताउँदै मुख्यमन्त्री तामाङले आफूहरुसँग सुनौलो मौका रहेको वताउनुभयो । “यो मेरो पहिलो भ्रमण हो । आज प्रत्यक्षरुपमा यत्ति राम्रो स्थान आउन पाएँ”, मुख्यमन्त्री तामाङको भनाई छ, “यो नाका खोलेर नेपालको ४५ लाख जनसंख्यालाई लाभ दिने अवसर पाउछौं ।”

शिक्षा, स्वास्थ्यमा राम्रो लगानी गरी उत्तरे बजार सुविधायुक्त शैक्षिक तथा स्वास्थ्य संस्थामा स्थापना गर्न सके नेपालका धेरै विद्यार्थी र विरामीले त्यसको उपयोग गर्ने र दुवै देशलाई फाइदा पुग्ने उहाँको भनाई छ । “अबको ५० वर्ष कस्तो बनाउने भनेर योजना बनाई संघीय सरकारमार्फत नेपालसँग सम्वाद गर्छौं”, उहाँले भन्नुभयो, “यहाँ पिउनेपानी र विद्युत पुग्न बाँकी रहेकाले त्यसको चाँडै प्रवन्ध गर्छौं ।” इन्टरनेटको पहुँच पनि चाँडै विस्तार गर्ने मुख्यमन्त्री तामाङको भनाई छ ।

नेपाल र सिक्किमको आउजाउ रहेपनि यो नाकालाई वैधानिक रुपमा नाका खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाई छ । वन अतिथि गृहको उद्घाटनपछि मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो सरकारले चिवाभञ्ज्याङलाई सिक्किम र नेपालवीच द्वीपक्षीय सम्पर्कविन्दू बनाई बहुमोडल कोरिडोर खोल्ने योजना बनाएको वताउनुभएको छ । सिक्किमका सञ्चार माध्यमहरुले मुख्यमन्त्रीको चिवाभञ्ज्याङ भ्रमणलाई महत्वका साथ प्रकाशन गरेका छन् ।

पहिलो पटक सिक्किमका मुख्यमन्त्री चिवाभञ्ज्याङ आई नाका खोल्न पहल थाल्ने वताएपछि सीमावर्ती क्षेत्रका नेपाली पनि खुशी भएका छन् । भारतले चासो नदिएर नाका नखोलिएको वताउने यस क्षेत्रका नागरिक मुख्यमन्त्री स्वयम् उपस्थित हुँदा खुशी भएका हुन् । चिवाभञ्ज्याङमा नाका विस्तार हुन सके यहाँ उत्पादित कृषि, चौंरी तथा भेडाजन्य सामग्रीले भारतमा आकर्षक बजार पाउने स्थानीयवासीको विश्वास छ ।