फिदिम । अविरल बर्षासहितको भिषण वर्षाको कारण भएको क्षति अध्ययन गर्न नेपाल सरकारको टिम पाँचथर आउदै छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बसनतकुमार नेम्बाङसहितको टोली जिल्ला आउन लागेको उहाँको सचिवालयले जनाएको छ ।
राहत, उद्धार र क्षतिको विवरण संकलनका लागि पाँचथर आउने तयारी भइरहेको उहाँको सचिवालयले जनाएको छ ।
भीषण वर्षापछि आएको बाढीले मेची राजमार्ग अन्तर्गत हेंवा खोलाको पुल बगाएको छ । बाढीमा परी केही स्थानीयवासी बेपत्ता भएका छन् ।
बाढीले मेची राजमार्गको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने ४५.५२ मिटरको पक्की पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले वताउनुभयो । बाढीले पुल बगाएसँगै मेची राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ । यस्तै तमोर कोरिडोरको माझीटारस्थित बेलिब्रिज पनि बाढीले बढाएको स्थानीयवासीले बताएका छन् ।
बाढीमा परी हेंवा खोला क्षेत्रका केही मानिस बेपत्ता भएका छन् । हेंवाखोला पुल क्षेत्र, माझीटार र तल्लो हेंवा जलविद्युत आयोजना क्षेत्रबाट केही मानिस हराएको सूचना आएको र उनीहरुको पहिचान तथा खोजीको कार्य भइरहेको प्रनाउ खतिवडाले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार हालसम्म ६ जना मानिस बेपत्ता भएका छन् । बाढीले फालेलुङ गाउँपालिका–५ सहितका स्थानमा समेत क्षति पु¥याएको भएपनि क्षतिको पूर्ण बिवरण प्राप्त भइनसकेको प्रहरीको भनाई छ ।
बाढीले फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा रहेका दुई वटा सडक पुल र एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेंवा खोलाको तटीय क्षेत्रमा रहेका धेरै संरचना, भवन तथा यन्त्र र उपकरणहरु बाढीले बगाएको हो । यस्तै याङवरक गाउँपालिका वडा नं। १, २ र ३ मा इंवा खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया