Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘हेडसर’ खोज्दै आमा छोरा दमक पुगे… « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘हेडसर’ खोज्दै आमा छोरा दमक पुगे…

चिन्तन खबर

फिदिम । झापाको दमकमा बसोबास गर्दै आउनुभएका पाँचथरको कुम्मायक गाउँपालिका–२ माङ्जाबुङ स्थित सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक निलकण्ठ सापकोटाले असार १८ गते दमक बसपार्कमा ४ बोरा सामान र एउटा सिलिण्डर ग्याँस लिएर उभिएका आमाछोराको फोटो सामाजिक सञ्जाल फेसबुकमा हाल्नुभयो ।

तस्वीरमा भएका आमाछोरा हुनुहुन्थ्यो, माङ्जाबुङकै आनन्दकुमारी खड्का (ठुली) र उहाँका कान्छा छोरा कबिन खड्का । सापकोटालाई नै खोज्दै दमक पुग्नुभएका आमाछोरा सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यालय कर्मचारी ओमबहादुर नामले चिनिने अमरबहादुर खड्काका श्रीमती र छोरा हुनुहुन्थ्यो ।

सापकोटालाई खोज्दै खड्का आमाछोरा दमक पुग्नुको कारण भने निकै मर्मस्पर्शी छ । सिद्ध सरस्वती माध्यमिक विद्यालय २०५२ सालमा माध्यमिक तह विस्तार भएको केही समयपछि विद्यालय नजिकैका ओमबहादुरलाई विद्यालयले विद्यालयको सहयोगी कर्मचारीका रुपमा नियुक्त गरेको थियो । धुलाम्य विद्यालयको सरसफाइदेखि बाहिरी ब्यवस्थापनको सबै जिम्मेवारी खड्काको काँधमा थियो । पूर्वप्रधानाध्यापक सापकोटाका अनुसार सो समय खड्काको पारिश्रमिक मासिक ३०० रुपैयाँ थियो ।

दातृ निकाय प्रदान गरेको सोलार सेट र सोलारबाटै चल्ने कम्प्युटर विद्यालयमा जडान भएपछि यसको सुरक्षाका लागि रातको समयमा पनि खड्का प्रायः विद्यालयमै काम गर्नुहुन्थ्यो । काठको सामान्य काम गर्न जान्ने भएकाले विद्यालयका धेरै काम खड्काबाट हुन्थे । “तलब एक जनालाई दिएपनि परिवारका सबैले विद्यालयका लागि काम गर्दथे । काठको काम लगाउँदा ओमबहादुरलाई अतिरिक्त खर्च दिने गर्दथ्यौं”, सापकोटाले सम्झनुभयो, “श्रीमान विद्यालयको जागिरे भएपनि ओमबहादुरकी श्रीमती ठूलीले सरसफाइदेखि खानेपानीको जोहो गर्न मद्दत गर्थिनँ ।”

विद्यालय नजिकै ओमबहादुरको घर छ । केही रोपनी पाखोबारी पनि । मकै, मस्याम लगायत एक सिजन बाली उत्पादन हुने बारीको उब्जनीले खड्काको परिवारलाई दुई महिना पनि खान पुग्दनथ्यो । ३०० रुपैयाँबाट सुरु भई बढ्दै गएको तलबले नै खड्काको परिवार चलेको थियो ।

गत वैशाक २४ गते ओमबहादुरको निधन भएपछि आनन्दकुमारीका दुःखका दिन सुरु भए । ओमबहादुर र आनन्दकुमारीका चार जना छोराछोरीमध्ये जेठा छोरा रोजगारीका लागि विदेशमा छन् भने छोरीहरु विवाह गरेर घरतिर गइसकेका छन् । ओमबहादुरको काजक्रियापछि आनन्दकुमारीले विद्यालयमा श्रीमानले गर्दै आएको काम गर्न थाल्नुभएको थियो । तर स्वास्थ्य अवस्था र उमेरका कारण विद्यालयको सबै काम उहाँबाट सम्भव भइरहेको थिएनँ ।

ओमबहादुरको निधनपछि विद्यालयमा सहयोगी कर्मचारी राख्ने विषयमा छलफल भयो । विद्यालयका प्रधानाध्यापक पूर्णकुमार शेर्माका अनुसार विद्यालय ब्यवस्थापन समितिमा सहयोगी कर्मचारी राख्ने विषयमा छलफल भयो, तर सहमति भएन । धेरै अभिभावक, शिक्षक तथा स्थानीयवासीले परिवारले विद्यालयलाई दिएको योगदान सम्झेर ओमबहादुरका कान्छा छोरा कबिनलाई विद्यालयमा कर्मचारीका रुपमा नियुक्त गर्न चाहेका थिए । २१ वर्षका कबिन पनि काम गर्न इच्छुक थिए ।

प्रधानाध्यापक शेर्माका अनुसार विद्यालय ब्यवस्थापन समितिमा कबिनलाई नियुक्ति दिने विषयमा छलफल चल्यो तर सहमति जुटेन । यसपछि विद्यालयले सहयोगी कर्मचारीका लागि विज्ञापन आव्हान ग¥यो । “विद्यालय ब्यवस्थापन समितिमा सहमति नभएपछि आवेदन आव्हान गरेर परीक्षा गरायौं । गाउँपालिकामा भएको परीक्षामा उहाँ (कबिन खड्का)को नाम निस्किएन । अर्कै परीक्षार्थी सफल हुनुभयो”, प्रधानाध्यापक शेर्माले भन्नुभयो, “परीक्षा प्रणालीमा जाँदा त्यस्तो भयो ।”

असार १२ गते कुम्मायक गाउँपालिकामा भएको परीक्षामा कबिन छनौट हुन नसकेपछि खड्का आमाछोराको माङ्जाबुङमा जिविका चलाउने कुनै आधार बाँकी रहेन । जिवीका चलाउने आधार समाप्त भएपछि आमाछोरा पाखो बारी र सानो घर छोडेर झापा झरे । विगतमा अभिभावक झैं सहयोग गर्ने ‘हेडसर’ सापकोटाको सहयोगमा उतै बस्ने तयारी आमाछोराको थियो ।

कर्मचारी राख्न परीक्षा हुने भएपछि खड्का परिवारले विद्यालयलाई दिएको योगदान सम्झेर कबिनलाई नियुक्त गर्न आफूले सुझाव दिएको पूर्वप्रधानाध्यापक सापकोटा वताउनुहुन्छ । “हालसम्म योगदान दिएका आधारमा केही अङ्क थपेर छोरालाई राखिदिँदा कल्याण हुन्छ भनेर सुझाव दिएको थिएँ”, सापकोटाले भन्नुभयो, “तर बावु मेरो पालामा नियुक्त भएको मानिस हुनु र राजनीतिक प्रतिशोध साँधिनुले खड्का आमाछोरा गाउँ छोडेर मेरो शरणमा आइपुग्न बिवश बने ।”

आफूलाई खोज्दै आएका आमाछोरालाई भेटेपछि आफ्नै घरमा राखेर बसोबासको ब्यवस्था मिलाएको सापकोटाको भनाई छ । “दमक पश्चिम स्टेण्डमा हाम्रो हेडसरको घर कता छ भनेर खोज्दै रहेछन् । अहिले मेरै अर्को घरमा बसेर मेरो लगानी भएको निजी विद्यालयमा कबिनलाई काम गर्ने ब्यवस्था मिलाइदिएको छु”, सापकोटाले भन्नुभयो, “आमा चाहिँ धेरै कमजोर भएकाले प्रशस्तै आराम गर्न भनेको छु । स्वास्थ्य अवस्था ठिक भएपछि कामको प्रवन्ध मिलाई दिनेछु ।”

खड्का परिवारको आर्थिक अवस्था नाजुक भएका कारण ओमबहादुरको काजक्रिया गर्दा बाँकी रहेको ऋण तिर्न माङ्जाबुङ नै घर भई दक्षिण कोरियामा रोजगारीमा रहेका गजेन्द्र शेर्माले १९ हजार १०० रुपैयाँ सहयोग गरेको सापकोटाले जानकारी दिनुभयो । सापकोटाकै फेसबुक पोस्टमा धेरै स्थानीयवासीले खड्का परिवारमाथि अन्याय भएको प्रतिकृया दिएका छन् ।

खड्काका आमाछोराले गत निर्वाचनहरुमा नेकपा (एमाले)लाई मतदान गरेका कारण योजनावद्ध रुपमै जिम्मेवारीबाट हटाई अमानवीय कार्य गरिएको भन्दै कतिपयले रोष प्रकट गरेका छन् । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष र वडाध्यक्ष गठबन्धन दलका भएका कारण उनीहरुमाथि प्रतिशोध साँधिएको स्पष्ट देखिएको पूर्वप्रधानाध्यापक सापकोटाको भनाई छ ।

श्रीमानको शोकमा रहेकी एकल महिलामाथि अन्याय भएको भन्दै कतिपयले विद्यालय ब्यवस्थापन समितिप्रति आक्रोश पनि पोखेका छन् । खड्का परिवारको आर्थिक अवस्था निकै कमजोर भएको, परिवारले नै विद्यालयका लागि योगदान दिएको हुँदा सानो भएपनि रोजगारीको अवसर दिई न्याय गर्नुपर्ने तर्क स्थानीयवासीको छ ।

यद्यपि विद्यालयले नयाँ कर्मचारी नियुक्त गरी काममा लगाइसकेको प्रधानाध्यापक शेर्माले वताउनुभयो । स्थानीयवासीले राजनीतिक चलखेलका कारण विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि गरेका छन् ।