Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
धान नरोपिएपछि पिरोलिए माझीटारवासी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

धान नरोपिएपछि पिरोलिए माझीटारवासी

चिन्तन खबर

फिदिम । हिलिहाङ गाउँपालिका–७ माझीटारका वीरबहादुर माझी घर नजिकैको खेतमा मकै छर्दै हुनुहुन्छ । अघिल्ला वर्षहरुमा यतिबेला धान रोपिइसक्ने खेत यसवर्ष अहिलेसम्म बाँझै भएपछि मकै फल्ने आशाले उहाँ धमाधम मकै छरिरहनुभएको छ ।

“पोहोर साल यतिबेला यहाँ धान हरियो फिरिसकेको थियो । अहिले मकै उम्रेला कि भनेर छरिरहेको छु”, वीरबहादुरले भन्नुभयो, “धान रोप्नलाई तत्कालै कुलो निकाल्न सकिने अवस्था छैन् ।”

सोही स्थानका शमशेरबहादुर माझी पनि मकै छर्न धमाधम हुनुहुन्छ । “धानको ब्याड गोरुलाई खुवाइसकेँ । अब के चाहिँ गर्ने र ?”, शमसेरबहादुरले भन्नुभयो, “दुई दिन लगाएर मकै छरेँ । पुलदेखि वारीपारी सबै खेत बाँझिने भए ।”

माझीटारकै जसबहादुर माझीको बालुवाले पुरिएको खेत यसपालि बाँझै हुने अवस्था छ । “कहिल्यै बाढी नआउने ठाउँमा बाढी पस्यो । यसपालि खेतमा कमाई लगाउन सक्ने स्थिति छैन्”, जसबहादुरले भन्नुभयो, “हेंवा खोलाको सिम्ले र माझीटारमा यसपालि धान फल्ने स्थिति छैन् ।”

गत असार पहिलो साता आएको बाढीको बितण्डाले यसपालि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती माझीटारका खेतमा धान रोपाईं हुने छैन् । यहाँ कतै बाढीले खेत कटान गरेको छ भने कतै ढुङ्गामुढा खेत थुप्रिएका छन् ।

बाँकी रहेको खेतमा पानी ल्याउने कुलो बाढीले बगाइदिएको छ । केही धान फल्ने खेतमा तमोर कोरिडोर सडकबाट पहिरो झरेर पुरेको छ ।

माझीटारको हिलिहाङ गाउँपालिकातर्फ हेंवा खोलाबाट ल्याइएको झण्डै डेढ किलोमिटर लामो कुलो खोलाको आसपास बाढीले बगाएको छ । खेततर्फ तमोर कोरिडोर सडक निर्माणका क्रममा खनिएको ढुङ्गा माटो भीषण वर्षाका कारण पहिरो बनेर कुलो र खेतमाथि झरेको छ ।

फिदिमतर्फ तमोर कोरिडोर सडकसँगै रहेको कुरा बाढीले बगाएको छ । बाढी पहिराका कारण धान नरोपिने भएपछि यहाँका वासिन्दाहरु अहिले धमाधम मकै छरिरहेका छन् । असार अन्तिम साता धान रोपाईं हुने यहाँ अघिल्ला वर्षहरुमा यतिबेला धान हरियो फिरिसकेको हुने स्थानीयवासी वताउँछन् ।

माझीटारका चन्द्रबहादुर माझीका अनुसार साहुका खेतमा माझी परिवारले बन्दकी, अधिँया, कुत तथा ब्याज मराउनीमा जग्गा लिने गरेका छन् । यहाँ बसोबास गर्ने ४१ घर परिवार माझीमध्ये अधिकांश खेती गर्ने गर्दछन् । केहीले सानो तिनो ब्यापार ब्यवसाय चलाउँदै आएपनि मूल पेशा भने कृषि नै हो । तर धान नरोपिने र खोलामा माछा मासिएपछि भविश्यको चिन्ताले माझी समुदाय पिरोलिएका छन् ।

माछा मारेर विक्री गर्ने आफ्नो परम्परा मासिएका कारण वैकल्पिक पेशा समेत नरहेको वीरबहादुरको दुःखेसो छ । “चामलको दाम बढेको बढ्यै छ । खोलामा माछा पनि सिद्धिहाल्यो । न त जागिर नै छ”, वीरबहादुरले भन्नुभयो । आफ्नोमात्रै १५ मुरी धान फल्ने खेत बाँझिएको वीरबहादुरको भनाई छ ।

यहाँ ५०० मुरीभन्दा बढी धान फल्ने खेत बाढीका कारण बाँझिएको उहाँले वताउनुभयो । बाढीले माझी समुदायले छरेका मकै पनि बगाएको छ । “पाक्न लागेको मकै बाढीले बगाइदियो, धान फल्ने त आशै रहेनँ”, चन्द्रबहादुरले भन्नुभयो ।

पाइप लगाएर कुलो सञ्चालन गर्ने सम्भावना रहेपनि त्यसका लागि आफैंले लगानी जुटाउन सक्ने अवस्था नरहेको र सरकारी निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । “हामीले भन्न चाहिँ सबै ठाउँमा भनेका छौं । सबै लागेर हामीलाई सहयोग गरिदिनु प-यो”, ६५ वर्षीय जसबहादुरले भन्नुभयो । यद्यपि यसै वर्ष धान रोपिने अवस्था नरहेको माझीटारवासी वताउँछन् ।

जिविकोपार्जनका सबै माध्यमहरु धराशायी बनेपछि माझी समुदाय सहयोगको अपेक्षा लिएर बसिरहेका छन् । “सरकारले पनि थोरै थोरै त राहत दिनुपर्ने हो । हामी सबैभन्दा पछाडि परेका मानिस छौं यहाँ”, चन्द्रबहादुरले भन्नुभयो, “हाम्रो अरु खेती छैन् । पाखाबारीमा घर बनाएका छौं । हामी कहाँ बाँच्ने स्थिति आउँछ ? राहत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी वित्ने पो हो कि ?”

बाढी र पहिराका कारण यहाँ १०० रोपनीभन्दा बढी खेतमा क्षति पुगेको छ । तटीय क्षेत्रका खेतीयोग्य जमिन खोलाले कटान गरेको छ । कतिपय खेत बाढीका कारण खण्डहर बनेका छन् । माझीटारको वस्तीभन्दा माथिबाट अघि बढेको तमोर कोरिडोर सडक निर्माणका क्रममा निस्किएका ढुङ्गामाटो वर्षाका कारण यसपालि पहिरो बनेर खेतमा झर्दा झनै ठूलो क्षति पुगेको अर्का स्थानीयवासी प्रकाश माझीले वताउनुभयो ।

माझी समुदायका अगुवा जसबहादुरका अनुसार वि.सं. २०२५ सालमा आएको बाढीले माझीटारका कतिपय खेत पुरिएका थिए । तर सो बाढीमा पनि अहिलेजस्तो क्षति नपुगेको जसबहादुरको भनाई छ । “म १० वर्षको थिएँ होला त्यो बेला । बाढीले खोला नजिकैका खेतहरु पुरेको थियो । तर अहिलेजस्तो बगाएर लगेको थिएन”, जसबहादुरले भन्नुभयो, “यसपालि त कहिल्यै नभोगेको कुरा आइलाग्यो ।”

माझी समुदायका लागि फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले नीति तथा कार्यक्रमहरुमा जिविकोपार्जनमा मद्दत गर्ने कार्यक्रम राख्ने गरेपनि परिणाम देखिने कुनै काम गर्न सकेका छैनन् । तमोर र हेंवाको तटीय क्षेत्रका खेतमा परम्परागत कृषि उपज उत्पादन गर्ने माझी समुदाय विकास निर्माण तथा दैवी विपत्तिमा भने सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।