Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
तमोर कोरिडोर – जोखिम मोलेर सवारी चलाइँदै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

तमोर कोरिडोर – जोखिम मोलेर सवारी चलाइँदै

चिन्तन खबर

फिदिम । द्रुत मार्गका रुपमा पूर्वी पहाडी जिल्लाहरुलाई तराईसँग जोड्ने तमोर कोरिडोर सडकमा वर्षायाममा जोखिम मोलेर सवारीका साधन सञ्चालन हुँदै आएका छन् । वर्षाका कारण सडक जोखिमपूर्ण बनेको भएपनि छिटो तराईसम्म पुगिने भएकाले यहाँबाट सवारीका साधन नियमितजस्तो सञ्चालन भइरहेका छन् ।

यो कोरिडोर हुँदै पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाबाट छोटो दूरीको यात्रामै तराईका जिल्लामा पुग्न सकिने भएपछि नियमितजसो सवारीका साधन सञ्चालन भइरहेका छन् । तर निर्माणाधीन यस सडकका विभिन्न खोलाहरुमा सडक पुल बनेका छैनन् भने कतिपय स्थानमा सडक चौडा गर्ने काम पनि सम्पन्न भएको छैन् ।

निरन्तरको वर्षाका कारण सडक हिलाम्य बन्नुका साथै कतिपय स्थानमा बाढी र पहिरोले सडकमा क्षति पु¥याएको छ । चाँडो गन्तब्यमा पुगिने भएकाले जोखिम मोलेरै भएपनि यात्रुहरु यही सडक प्रयोग गरिरहेको भेट्न सकिन्छ ।

तमोर कोरिडोर सडक सुनसरीको चतारादेखि पाँचथरको फेदापासम्म रहेको छ । यसको लम्बाई १ सय ५८ किलोमिटर छ । जसमध्ये धनकुटाको मुलघाटदेखि पाँचथरको फेदापासम्म ११० किलोमिटर सडक कालोपत्रेको काम गत पुसबाट सुरुआत भएको छ । कालोपत्रेका लागि सडकको ट्रयाक विस्तार, नाली निर्माण, पर्खाल निर्माण सहितका काम भइरहका कारण पनि सडकमा सवारीका साधन सञ्चालनमा समस्या रहेको पाइन्छ ।

यस्तै यस सडक अन्तर्गत लोरिपा, लखुवा, नावा, रगुवा, कमुवा र भगुवा खोलामा पुल बन्न सकेका छैनन् । बेलिब्रिज रहेको हेंवा खोलामा बाढीले बेलिब्रिज बगाएको छ । पुल नहुँदा नावा, रगुवा लगायत खोलामा बाढी आउँदा सवारीका साधन सञ्चालनमा समस्या पर्ने गरेको छ ।

गत असार १९ गते नावा खोलामा आएको बाढीमा टिपर फस्दा टिपरमा रहेको डिजेल बाढीले बगाएको थियो । बाढी आइरहने नावा खोलामा मोटरसाइकल तार्न निकै कठिन छ । यहाँ झोलुङ्गे पुलबाट मोटरसाइकल तार्ने गरिएपनि झोलुङ्गे पुलसम्म पुग्ने पहुँचमार्ग एकदमै अप्ठ्यारो हुँदा पटक–पटक समस्या भोग्नु परेको पाँचथरको कुम्मायकका मदन थापाको अनुभव छ । नावा खोलामा पानीको मात्रा कति हुन्छ भन्ने यकिन नहुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थापा सुनाउनुहुन्छ ।

विराटनगर, धरान, इटहरी लगायत क्षेत्रबाट उत्तरी पाँचथर, पूर्वी तेह्रथुम र ताप्लेजुङ आउन तमोर कोरिडोर सडक उपयुक्त छ । यसकारण जोखिम मोलेर भएपनि यात्रुहरुले यात्रा गर्ने गरेको कुम्मायक–५ स्याबरुम्बाकी ब्यवसायी मञ्जु आचार्य वताउनुहुन्छ । द्रुत मार्ग भएकाले यो सडकको कालोपत्रे तथा पुल निर्माण चाँडो अघि बढाउनु उपयुक्त हुने आचार्यको भनाई छ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ सहित दोभान, हप्पुखोला, हाङपाङ लगायत स्थानबाट, पाँचथरको फिदिम सहित यासोक, मौवा लगायत स्थानबाट तेह्रथुमको सक्रान्तिबजार, फेदाप लगायत स्थानबाट तमोर कोरिडोर हुँदै धरान, इटहरी, विराटनगर, दमक लगायत स्थानका लागि सवारीका साधन चल्ने गर्दछन् । यी स्थानबाट मेची राजमार्ग हुँदै झापा पुग्न लामो समय लाग्दछ । तर झापा पुग्ने समयमा कोरिडोरबाट सवारीका साधन धरान, इटहरी, विराटनगर, दमक लगायत स्थानसम्म पुगिसक्छन् ।

गत असार २ गते राती पाँचथरको हेंवा खोलामा आएको बाढीले फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमा माझीटारमा रहेको बेलिब्रिज बगाएपछि फिदिमदेखि उत्तरका सवारीका साधन भने फिदिमबाट सिवादोभान हुँदै कोरिडोरबाट चल्ने गर्दछन् । बेलिब्रिज हुँदा सवारीका साधन हिलिहाङ गाउँपालिका–१ भालुचोक र फेदापाबाट सिधै कोरिडोरमा चल्दथे । बेलिब्रिज रहेको स्थानमा नयाँ पुल निर्माण गरी कोरिडोरलाई चाँडै पूर्ववत अवस्थामा फर्काइनुपर्ने उत्तरी क्षेत्रका वासिन्दाको माग रहेको हिलिहाङ गाउँ कार्यपालिका सदस्य वीरेन्द्र मंग्रातीको भनाई छ ।

दुर्गम मानिने धनकुटाका कुरुलेतेनुपा, वसन्तटार, मुढेवास, मौनावुधुक, बोधे लगायत स्थान यही सडकको विस्तारपछि सहज सडक पहुँचमा पुगेका छन् । तर सडक विस्तार भइनसक्नु तथा पुल निर्माण नहुनुले जोखिम कायम रहेको सवारी चालकहरु वताउँछन् । कोरिडोर निर्माणपछि तमोर तटीय क्षेत्रका कृषकहरुका कृषि उपज पनि सहजै तराईका बजारसम्म पुगेका छन् । तर बजार सुनिश्चितताका लागि नियमित सवारी सञ्चालन जरुरी रहेको कृषकहरु वताउँछन् ।