पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको मध्यपहाडी यात्राः चिवाभञ्ज्याङमा स्मृति चिन्ह र झण्डोत्तलन हुने

चिन्तन खबर

फिदिम । शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को समृद्धिका लागि सङ्कल्प यात्राको समापन हुने स्थान चिवाभञ्ज्याङमा स्मृति चिन्ह राखेर झण्डोत्तलन गरिने भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम विन्दू चिवाभञ्ज्याङमा समृद्धिका लागि सङ्कल्प यात्राको स्मृति चिन्ह, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति चिन्ह स्थापना गर्न लागिएको हो ।

यसै स्थानमा राष्ट्रिय झण्डा राखी यात्रा समापनका क्रममा झण्डोत्तलन गर्न तयारी गरिएको नेम्बाङले जानकारी दिनुभयो । पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट आज सुरु भएको सो यात्रा आगामी पुस १ गते चिवाभञ्ज्याङमा समापन हुनेछ ।

समापनका हुने स्थानको वस्तुस्थितिको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत कात्तिक १७ गते स्थलगत निरीक्षण गर्नुभएको थियो । एमालेका केन्द्रीय सदस्यद्वय वसन्तकुमार नेम्बाङ र अइन्द्रसुन्दर नेम्बाङ तथा कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले मंगलबार स्थलगत निरीक्षण गरी स्मृति चिन्ह निर्माणको तयारी थाल्ने जनाएका छन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग उद्गम विन्दू चिवाभञ्ज्याङ तीन हजार १२८ मिटर उचाइमा अवस्थित छ । एक दशकअघि नै चिवाभञ्ज्याङसम्म सडक विस्तार भएपनि याङवरक गाउँपालिका–४ दारिम्बाबाट याङवरककै वडा नं. १ मा पर्ने चिवाभञ्ज्याङसम्मको ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । ओली नै प्रधानमन्त्री रहेका बेला उक्त उद्गम खण्ड कालोपत्रका लागि बजेट बिनियोजन भई काम सुरुआत भएको थियो । तर निर्माण कम्पनीले हालसम्म १० प्रतिशत पनि काम गरेको छैन् ।

पुस १ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुग्ने र सोही दिन फिदिम फर्कन कार्यक्रम तय भएको नेम्बाङले जानकारी दिनुभयो । यात्राका क्रममा सोही दिन मेची राजमार्गमा पर्ने पाँचथरका भारपा, जोरपोखरी, गोपेटार र गणेशचोक, मध्यपहाडी राजमार्गमा पर्ने थर्पु र च्याङ्थापूमा स्थानीय नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको उहाँले वताउनुभयो ।

मङ्सिर ३० गते अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको एमाले पाँचथरका कार्यबाहक अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष ओलीको भ्रमणको मौका पारी एमाले पाँचथरको कार्यालय रहेको पुष्पलाल–मदन भण्डारी स्मृति परिषदको कार्यालय र पाँचथरको याङवरक गाउँपालिकाको नवनिर्मित कार्यालयको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको सापकोटाले वताउनुभयो ।