Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पूर्वी पहाडमा आँखाको उपचार गर्न शिविरकै भर « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पूर्वी पहाडमा आँखाको उपचार गर्न शिविरकै भर

चिन्तन खबर

फिदिम । याङवरक–३ ओयामका मैतसिंह राई याङवरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बस्नुभएको छ । ७६ वर्षीय मैतसिंहको तेब्रे आँखामा मोतियाबिन्दूको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । १० वर्षदेखि आँखाको समस्या भोगिरहनु भएका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराउनु भएको थियो ।

आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले वताएपछि उहाँ शिविर पर्खेर बसिरहनु भएको थियो । “भरसक दुवै आँखाको अप्रेसन (शल्यक्रिया) गराऔं भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भन्नु भयो”, मैतसिंहले भन्नुभयो ।

सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षका हुनुभयो । उहाँका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । तर नजिकैको स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा उपचार नहुने सुनेपछि उहाँ समस्या पालेरै बसिरहनु भएको थियो । मधुरो देखिने हुँदा विस्तारै हिँडडुल गर्नुपर्ने बाध्यतामा रहनुभएका नुगो आँखाको उपचार गरेर सहज जीवनको अपेक्षामा हुनुहुन्छ ।

“गाउँबाट तीन जना साथीहरु आएका छौं । चस्मा लगाउँदा होला कि भनेको अप्रेसन (शल्यक्रिया) नै गर्नुपर्छ भन्ने कुरा डाक्टरले गर्दै हुनुहुन्छ”, याङवरक गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भेटिनुभएका नुगोले भन्नुभयो ।

शिविरमा आँखा परीक्षणका लागि आउनुभएका याङवरक–६ का रामकुमार भारती शिविरमार्फत घर दैलोमा सेवा पु¥याउने कार्यले सामान्य नागरिक बढी लाभग्राही हुने वताउनुहुन्छ । “टाढा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्थ्यो, स्वास्थ्य क्षेत्रका अन्य सेवालाई पनि यसरी नै विस्तार गर्न स्थानीय सरकार लाग्नु पर्छ”, भारतीले भन्नुभयो, “आँखाको उपचारका लागि झापासम्म पुग्नुपर्ने बाध्यताका कारण धेरैले उता (झापा) पुगेर उपचार गराउन सक्ने अवस्था छैन् ।”

उपचार र परीक्षणका लागि गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा आउनुभएका मैतसिंह, श्रीनन्द र रामकुमारजस्तै पूर्वी पहाडका नागरिकले आँखाको उपचार र परीक्षणका लागि कि त शिविर नै पर्खनु पर्छ, कि झापा पुग्नुपर्छ । पूर्वी पहाडका आँखाको उपचार गर्ने अस्पताल र जनशक्ति अभावका कारण नागरिक आँखा शिविरको भरपुर सदुपयोगमा लागेका देखिन्छन् ।

तथ्याङ्कहरुले पनि यहाँका नागरिक शिविरहरुमार्फत सेवा लिन इच्छुक रहेको देखाउँछ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङसँगको सहकार्यमा मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाले आयोजना गरेको शिविरमा ३९७ जनाले सेवा लिएका छन् ।

जसमध्ये ३२ जनाको मोतियाविन्दूको शल्यक्रिया, २२८ जनाको आँखा परीक्षण र चस्मा वितरण तथा बाँकीको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता कुमारध्वोज सुनुवारले जानकारी दिनुभयो । यहाँ गत वर्ष आयोजना गरिएको शिविरमा ५३० जना सेवाग्राहीले लाभ लिएका र जसमध्ये ३८ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिनुभयो ।

याङवरक र कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरी आँखा परीक्षण, विरामीको तथ्याङ्क सङ्कलन, चस्मा र औषधि वितरण गरिरहेका छन् । कुम्मायकले यासोक बजारमा कुम्मायक आँखा उपचार केन्द्र र याङवरकले थर्पुमा याङवरक आँखा उपचार केन्द्र स्थापना गरेका छन् । यी उपचार केन्द्र नेपाल नेत्रज्योति संघ ताप्लेजुङको सहकार्यमा स्थापना गरिएका हुन् ।

दुई/दुई वर्षमा आँखा शिविर सञ्चालन गर्दै आएको हिलिहाङ गाउँपालिकाले यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा मङ्सिर पहिलो साता आयोजना गरेको शिविरमा ९०७ जना सेवाग्राहीले सेवा लिएका थिए । जसमध्ये ६७ जनाको मोतियाविन्दू र अन्य समस्याको शल्यक्रिया गरिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार आँखाको उपचार सहज नहुँदा सेवाग्राही शिविर कुरेर बस्ने गरेका छन् । “स्वास्थ्य संस्थामा आँखाका विरामी दैनिकजसो आउँछन् । मोतियाविन्दूको समस्या धेरै देखिन्छ । चस्मा लगाउनु पर्ने अवस्थाका विरामी पनि प्रशस्तै भेटिन्छन्”, घिमिरेले भन्नुभयो, “हामीले उपचार गर्न नसक्ने हुँदा उपचारका लागि जिल्ला बाहिर जान वा शिविर पर्खन भन्ने गरेका छौं ।”

विद्यार्थीहरुमा समेत आँखाको समस्या देखिने गरेको घिमिरेको भनाई छ । यस्तै आँखामा आकस्मिक समस्या तथा दुर्घटनामा चोट लागेमा समेत उपचारका लागि झापा पुग्नुपर्ने बाध्यता छ ।

यहाँका अधिकांश विरामी आँखामा आएको समस्या समाधाका लागि मेची आँखा अस्पताल विर्तामोड पुग्ने गर्दछन् । कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन् ।

उसो त पाँचथरका फिदिम नगरपालिकासहित अन्य स्थानीय तहहरुले आँखा शिविर सञ्चालन गरिरहेका छन् । स्थानीय तह निर्माणअघि भने शिविर पनि निकै कम मात्रै हुने गर्दथे । स्थानीय तहले नियमित शिवर सञ्चालन गर्दा नागरिकलाई केही सुविधा भने पुगेको देखिन्छ ।

तर शिविरमार्फत दिइने सेवाभन्दा जिल्लामा आँखाको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिने गरेका छन् । जिल्ला अस्पताल पाँचथरमा मेची आँखा अस्पतालको सहयोगमा छुट्टै कक्ष स्थापना गरिएपनि दक्ष स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभावमा उक्त कक्षले प्रभावकारी सेवा दिन नसकेको विरामीहरुको गुनासो छ ।