Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अङ्ग्रेजीमा पठनपाठनको ब्यवस्था गर्न प्रधानाध्यापक दम्पत्तिद्वारा अक्षयकोष स्थापना « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अङ्ग्रेजीमा पठनपाठनको ब्यवस्था गर्न प्रधानाध्यापक दम्पत्तिद्वारा अक्षयकोष स्थापना

चिन्तन खबर

फिदिम । अभिभावकले बालबच्चालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पत्तिले अङ्ग्रेजी माध्यम विस्तारका लागि अक्षयकोष स्थापना गरेका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. १ खाल्डेमा रहेको खाल्डे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उहाँका श्रीमती सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले आइतवार विद्यालयमा रु. दुई लाख ५० हजार रकम रहेको अक्षयकोष स्थापना गर्नुभएको हो । अहिले यस विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट सोभन्दा माथिल्ला कक्षाहरुमा समेत अङ्ग्रेजी माध्यम विस्तार गर्न तथा शैक्षिक गुणस्तर सुधार गर्न मद्दत पुग्ने देखेपछि खड्का दम्पत्तिले अक्षयकोष स्थापना गर्नुभएको हो ।

खड्का दम्पत्तिले एगेन्द्रबहादुरका दिवङ्गत मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको हो । अङ्ग्रेजी माध्यममा पढाइ नहुँदा कतिपय अभिभावकले आफ्ना बालबच्चालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा लैजाने गरेको पाएपछि अक्षयकोषमार्फत विद्यालयलाई मद्दत गर्ने सोच बनाएको पूर्व प्रअ खड्काले वताउनुभयो । “जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन् । म प्रअ हुँदा नै कतिपय अभिभावकले बालबच्चा टाढाका विद्यालयमा अङ्ग्रेजी पढाउन लगेको देखेपछि अक्षयकोष बनाउने सोचेका थियौं”, खड्काले भन्नुभयो ।

३७ वर्ष शिक्षण तथा शैक्षिक क्षेत्रमा ब्यतीत गर्नुभएका एगेन्द्रबहादुरले गत बैशाक १ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको थियो । त्यसयता उहाँकै श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । खड्का दम्पत्तिले स्थापना गर्नुभएको अक्षयकोष विद्यालयसँगको समझदारीअनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । उहाँहरुले अक्षयकोषको मुल पुँजीलाई भविश्यमा वृद्धि गरी रु. पाँच लाख पु¥याउने लक्ष्य लिएको वताउनुभयो ।

“मावि (कक्षा ९–१०) तहमा जम्मा एउटा दरबन्दी र एक स्वयम्सेवक शिक्षक हुनुहुन्छ । निमावि र प्रावि तहमा पनि आवश्यकताअनुसार दरबन्दी छैनन्”, पूर्वप्रअ एवं अक्षयकोष संस्थापक खड्काले भन्नुभयो, “विगतमा अभिभावकहरुबाट चन्दा उठाएर पनि विद्यालयको वृत्तिविकासमा लगानी गरेका थियौं । सोही कुरा सम्झेर अरुलाई उत्प्रेरित गर्न अक्षयकोष स्थापना गरेका हौं ।”

सो विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेल विद्यालयको सरकारले उपलब्ध गराउनेबाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालाहरुलाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको वताउनुहुन्छ । अध्यक्ष पौडेलको परिवारले नै सो विद्यालयमा अक्षयकोष स्थापनाको सुरुआत समेत गरेको छ ।

“म विब्यस अध्यक्ष भएपछि अभिभावकहरुबाट केही रकम उठाइ शैक्षिक गुणस्तर सुधारमा लगाउन थालेका थियौं”, पौडेलले भन्नुभयो, “तर कतिपय अभिभावकहरुले यस्तो रकम नदिने र दिन नसक्ने वताएपछि हाम्रो परिवारले रु. एक लाख ५१ हजार रकमको अक्षयकोष स्थापना गरी विद्यालयलाई सानो मद्दत गरेका छौं ।”

पौडेल परिवारले स्वर्गीय खम्बसिंह पौडेल स्मृति अक्षयकोष स्थापना गरेपछि अर्का अभिभावक वसन्त चाम्लिङले रु. एक लाख ८ हजार रकम रहेको अक्षयकोष स्थापना गरिसक्नु भएको छ । प्रअ दम्पत्तिले अर्को अक्षयकोष स्थापना गरेपछि अङ्ग्रेजी माध्यम विस्तारमा सहज हुने विद्यालयको अपेक्षा छ ।

आइतवार अक्षयकोष स्थापनाको कार्यक्रममा कुम्मायक–१ का वडाका वडाध्यक्ष देवेन्द्रकुमार लावतीले स्रोत ब्यक्ति र कुम्मायक गाउँपालिकाको शिक्षा शाखाको नेतृत्व गरिसक्नु भएका खड्का दम्पत्तिले जस्तै अन्य अभिभावकहरुले पनि सामुदायिक विद्यालयलाई सहयोग र चासो दिनुपर्ने वताउनुभयो । “स्रोतको अभाव रहेका विद्यालयहरुलाई गाउँपालिका स्वयम्ले समेत अक्षयकोष स्थापना गर्न थालेको छ”, लावतीले भन्नुभयो, “यासोक क्याम्पसबाट सुरुआत भएको यो कार्यक्रम आगामी दिनमा यस विद्यालयमा पनि विस्तार गर्न म पहल गर्नेछु ।”

विषय शिक्षक नहुँदा विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न नसकिएको लावतीको भनाई छ । “सरकारले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दीको ब्यवस्था गर्ने कुरा पहाडी क्षेत्रमा ब्यवहारिक हुन सकेको छैन्”, लावतीले भन्नुभयो, “सुक्खाले प्रभावित यहाँ थोरै विद्यार्थी छन् । तर बाहिर गएर पढ्न सक्दैनन् । यसैले यहाँको आवश्यकतालाई हेरेर शिक्षक दरबन्दीको ब्यवस्था भए हामीलाई सहज हुन्थ्यो ।”

विब्यस अध्यक्ष पौडेल पनि लावतीको जस्तै माग गर्नुहुन्छ । “मावि तहको अध्ययन गर्न निकै टाढा पुग्नुपर्ने भएपछि अभिभावकहरुले स्रोत अभाव हुँदाहुँदै पनि विद्यालयलाई मावि तहमा विस्तार गरेका थियौं”, पौडेलले भन्नुभयो, “विद्यार्थी सङ्ख्याका आधारमा नभई आवश्यकताका आधारमा शिक्षक दरबन्दी आवश्यक छ ।”

विद्यालयमा स्थायी, राहत, स्वयम्सेवक लगायत दरबन्दीका १२ जना र निजी स्रोतका एक शिक्षक छन् । तर भएका शिक्षकहरुबाट कक्षा तीनभन्दा माथि अङ्ग्रेजी माध्यममा पठनपाठन विस्तार गर्न विद्यालयले नसकिरहेको प्रअ गीता खड्काको भनाई छ ।

वि.सं. २०१८ सालमा स्थापना भई ०६६ सालबाट माध्यमिक तहमा विस्तार भएको उक्त विद्यालयमा हाल १४२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सेवा क्षेत्रमा ३०६ घर परिवार रहेपनि कतिपय बसाइँ सरेर अन्यत्रै गइसकेका छन् । उक्त विद्यालयको सेवा क्षेत्र साविक यासोक गाविस वडा नं. १ र ९ तथा साविक स्याबरुम्बा गाविस वडा नं. ७ र ८ रहेको छ ।

पाँच वर्ष स्रोत ब्यक्ति, चार वर्ष कुम्मायक गाउँपालिकाको शिक्षा शाखा प्रमुख भई काम गर्नुभएका पूर्व प्रअ खड्काले छ वटा विद्यालयमा शिक्षण गरेको अनुभव सङ्गाल्नुभएको छ । अनुभवि प्रअ सेवाबाट अवकास भएपनि उहाँको परिवारबाटै विद्यालयको हितमा अक्षयकोष स्थापना भएपछि अन्य अभिभावकहरुले समेत चासो दिने आशा विब्यस अध्यक्ष पौडेलको छ ।

कार्यक्रममा वडा सदस्य अमर पौडेल, विब्यस सदस्य श्यामलाल चाम्लिङ, सुम्निमा आविका प्रअ लालबहादुर कार्की सहित अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो । सो अवसरमा विद्यालयले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि छनौट भएका विद्यार्थीलाई प्रोत्साहन पुरस्कार समेत वितरण गरेको थियो ।