फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा नेकपा (एमाले)की सुमित्रा उप्रेती सेढाईं विजयी हुनुभएको छ ।
गएराती सम्पन्न मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका अधिकारीले एमालेका भुवानीप्रसाद लिङदेनलाई २०७ मतको अन्तरले पराजित गर्नुभएको हो । अधिकारीले चार हजार ५६५ मत प्राप्त गर्दा निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका लिङदेनले ४३५८ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भवानीविक्रम लिङदेनले १११ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का भवानीप्रसाद लिङदेनलाई २८ मतको अन्तरले पराजित गर्दै एमालेकी सुमित्रा उप्रेती सेढाईं विजयी हुनुभएको छ । सेढाईंले चार हजार १४६ मत प्राप्त गर्दा लिङदेनले चार हजार ११८ मत प्राप्त गर्नुभयो । सेढाईं निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।
हिलिहाङमा एमालेबाट बहुमत वडाध्यक्ष र बहुमत गाउँसभा सदस्य निर्वाचित भएका छन् । हिलिहाङको वडा नं. १ मा काँग्रेसका सन्तोष लिङदेन, वडा नं. २ मा एमालेका भीमप्रसाद हेम्ब्या, वडा नं. ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङ, वडा नं. ४ मा एकीकृत समाजवादीका वृहस्पती गिरी, वडा नं. ५ मा एमालेका बिर्खबहादुर सुहाङ र वडा नं. ७ मा एमालेका धनकुमार पन्थाक प्यानल सहित वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।
वडा नं. ६ मा भने काँग्रेसका गणेश योङहाङ एक जना सदस्य सहित वडाध्यक्ष निर्वाचित हुँदा बाँकी तीन जना सदस्य एमालेले जितेको छ । अघिल्लो निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित सातै वडाका वडाध्यक्ष एमालेले जितेको थियो ।
प्रतिक्रिया