Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा स्थानीय तहमा ५ वर्षमा एमालेले बढायो ५ हजार मत « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा स्थानीय तहमा ५ वर्षमा एमालेले बढायो ५ हजार मत

चिन्तन खबर

फिदिम । जिल्लामा आंशिक रुपमा मात्रै गठबन्धन गरेको नेकपा (एमाले)ले पाँचथरमा अघिल्लो स्थानीय निर्वाचनपछि करीब ५ हजार मत बढाएको तथ्याङ्कले देखाएको छ । अरु मुख्य दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पूर्णत अन्य दलसँग गठबन्धन गरेकाले कुन दलले कति मत घटाए वा बढाए भन्ने तथ्याङ्क भने स्पष्ट छैन् ।

पाँचथरका एमालेका सात स्थानीय तहको अध्यक्षका उम्मेद्वारले गत स्थानीय निर्वाचनमा पाएको मतभन्दा अहिले ५८२९ मत बढी आएको तथ्याङ्कले देखाएको छ । जसमध्ये पूर्णतः राप्रपासँग तालमेल भएको फिदिम नगरपालिकाको प्रमुख पद तथा र जसपासँग आंशिक तालमेल भएको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा एमालेले राप्रपा र जसपाको केही मत पाएको छ । यो मतलाई घटाउँदा समेत एमालेले झण्डै ५ हजार मत बढाएको पाइएको हो । भलै पाँचथरमा एमालेले एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष मात्रै जित्न सफल भएको छ ।

०७४ को निर्वाचनमा याङवरकमा एमालेका अध्यक्षका उम्मेदवार लेखनाथ घिमिरेले ३७४८ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । हालै सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार सुवास योङ्याले ४११८ मत पाउनु भएको छ । जुन घिमिरेले पाएकोभन्दा ३७० बढी हो ।

हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा भुवानीप्रसाद लिङदेनले ०७४ मा ४१६९ मत पाउनु भएको थियो । यस पटक उहाँले ४३५८ मत पाउनु भएको छ । लिङदेनको मत १८९ बढेपनि जितका लागि पर्‍याप्त भएन ।

जिल्लाको फालेलुङ गाउँपालिकामा एमालेको मत ०७४ को भन्दा घटेको पाइएको छ । यहाँ एमालेको ठूलो हिस्सा एकीकृत समाजवादीमा समाहित हुँदा समेत एमालेको मत भने १४१ मात्रै घटेको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा एमालेका कमलप्रसाद जबेगूले २७६२ मत पाउनु भएकामा यस पटक अध्यक्ष पदमा जयप्रकाश केरुङले २६२१ मत पाउनु भएको छ ।

पाँचथरको फिदिम र फाल्गुनन्दमा भने एमालेले आश्चार्यजनक रुपमा मत वृद्धि गरेको छ । ०७४ मा फिदिम नगर प्रमुखका एमाले उम्मेदवार राजकुमार भण्डारीले ५४९९ मत प्राप्त गर्नुभएको थियो । यस पटक जसपाको एउटा समूह र राप्रपा समेतको सहयोगमा एमालेका उम्मेदवार पृथ्वी लावतीले फिदिमको नगर प्रमुखमा ९२८० मत पाउनुभएको छ । जुन ०७४ को मत भन्दा ३७८१ बढी हो । ०७४ मा फिदिमको नगर प्रमुखमा राप्रपाले ७१० मत र जसपाले २६४ मत पाएका थिए । उक्त मत र औषतमा ती पार्टीको वृद्धि हुने मत घटाउँदा समेत फिदिममा एमालेले करीब २५०० मत वृद्धि गरेको देखिएको छ ।

फाल्गुनन्दमा समेत एमालेले जसपाको एउटा समूहको सहयोगमा आकर्षक मत वृद्धि गरेको छ । ०७४ मा फाल्गुनन्दको अध्यक्षमा एमाले उम्मेदवार वीरबहादुर कुरुम्बाङले ३३६७ मत पाउनु भएको थियो भने जसपाले ४९० मत पाएको थियो । यस पटक जसपाको सहयोगमा कुरुम्बाङले ४६४३ मत पाउनुभयो । जुन अघिल्लो निर्वाचनको भन्दा १२७६ बढी हो । जसपाभित्रको आन्तरिक द्वन्द्व र केन्द्रीय सर्कुलरका कारण फाल्गुनन्दको जसपाको सबै मत कुरुम्बाङले नपाएको चर्चा छ । यहाँ जसपाको ४९० मत वृद्धि भई ६०० बढी हुँदा समेत एमाले एक्लैले ६०० बढी मत वृद्धि गरेको देखिन्छ ।

एमालेको गढ मानिने कुम्मायकको अध्यक्षमा भने एमालेको मत घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका जयबहादुर चेम्जोङले यहाँ ३२२६ मत पाउनु भएको थियो । तर यस पटक एमालेका भीमप्रसाद सम्बाहाम्फेले २९०० मत पाउनुभयो । जुन अघिल्लोभन्दा ३२६ कम हो ।

तुम्बेवा गाउँपालिकामा भने अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल भएको र यस पटक एमालेले जसपा र राप्रपासँग सहकार्य गरेकाले मत घटबढको तथ्याङ्क यकिन हुन सकेको छैन् । अघिल्लो निर्वाचनमा एमालेले यहाँ उपाध्यक्ष जितेको भएपनि माओवादी समेतको साथ रहेको थियो ।

निकै कमजोर देखिएपनि जिल्लाको दक्षिणी मिक्लाजुङमा एमालेले आकर्षक मत वृद्धि गरेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेका अध्यक्षका उम्मेदवार धनकुमार फियाकले ३२९६ मत पाउनुभएको थियो । यस निर्वाचनमा एमालेका नरेन्द्रकुमार बस्नेतले ४०२६ मत पाउनुभयो । जुन अघिल्लोभन्दा ७३० मत बढी हो ।

जिल्लाका केही सिमित बाहेकका स्थानीय तहमा सत्तारुढ दलहरुले गठबन्धन गरेका थिए । जसकारण उनीहरुले कति मत बढाए वा मत घट्यो भने तथ्याङ्क भने समग्र गठबन्धनको मतबाट स्पष्ट हुन्छ ।