Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सरकार मलको व्यवस्था गर्न सक्दैन‚ किसानले ल्याएको पनि खोस्छ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सरकार मलको व्यवस्था गर्न सक्दैन‚ किसानले ल्याएको पनि खोस्छ

चिन्तन खबर

कञ्चनपुरः रोपाइँ शुरु हुनै लाग्दा कञ्चनपुरका किसानलाई रासायनिक मल डिएपीको अभाव भएको छ। मलको अभावमै किसानले रोपाइँ गर्न थालेका छन्।

अनुदानको मल नपाएका किसानले विगतदेखि नै भारतबाट आउने मल राखी रोपाइँ गर्ने गरेका थिए। यो वर्ष भने भारतीय मल ल्याउँदा सिमानामा प्रहरीले कडाइ गरेपछि किसान मलविना नै रोपाइँ गर्न थालेका छन्।

‘भारतबाट ठूलो परिणाममा मल तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्दैन’, स्थानीय किसान भन्छन्, ‘सीमावर्ती बजार क्षेत्रमा अवैध रूपमा भित्र्याइएको भारतीय मल ठूलो परिमाणमा राखिएको छ। त्यो कुरा प्रहरीलाई थाहा छ। किसानले ती क्षेत्रबाट मल खरिद गरेर ल्याए प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाउँछ। तस्करी गर्नेहरूलाई भने छुट छ।’

चार दिनअघि मात्रै बेलौरी नगरपालिकाको कलकत्ता क्षेत्रबाट मल ल्याउँदै गरेका पाँचजना किसानको मल प्रहरीले शुक्लाफाँटा–१ बन्साहबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ। किसान भन्छन्, ‘न हामी तस्कर थियौं न तस्करी गरेर मल बेच्न लागेका थियौं तर हामीलाई अपराधीको व्यवहार गरियो।’

आफूहरूले प्रहरीलाई आफ्नो समस्या सुनाएको बताउँदै भने, ‘हामी किसान हौं। अनुदानको मल नपाएपछि बाध्य भएर ल्याएका हौं। नेपाली व्यापारीबाटै खरिद गरेर ल्याएका हौं भनेर बताउँदा समेत मल नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।’ प्रहरीले भारतबाट अवैध रूपमा मल भित्र्याउने व्यापारीलाई प्रश्रय दिने तर किसानले एकदुई कट्टा मल ल्याए नियन्त्रणमा लिने गरेको स्थानीय किसानको गुनासो छ।

‘सरकारले मलको पर्याप्त व्यवस्था गर्नु पर्‍यो’, किसान विजय चौधरीले भने, ‘विकल्पका रूपमा भारतीय मल प्रयोग गर्न दिनु पर्‍यो।’ भारतीय मल ल्याउनै नदिने र अनुदानको मल उपलब्ध गराउनै नसक्ने हो भने धानको उत्पादन बढाउन सकिदैन। मलको अभावमा उत्पादन घटेसँगै धान समेत बाह्य क्षेत्रबाट ल्याउनुपर्ने अवस्था आउन सक्छ। यसबाट भोकमरी समेत आउनसक्छ।’

अर्का किसान महादेव चौधरी भन्छन्, ‘सरकारले गुणस्तरीय रासायनिक मलको व्यवस्था गर्न प्रत्येक प्रदेशमा एउटा मल कारखाना खोल्नै पर्छ। स्वदेशमै मलको उत्पादन भए बाह्य क्षेत्रको मुख ताक्नुपर्ने बाध्यता हट्छ।’

केही दिनअघि मात्रै थोरै मात्रामा अनुदानको डिएपी मल आए पनि त्यो मल सबै किसानले पाउन सकेका छैनन्। थोरै किसानले मात्रै मल पाएका छन्। रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग समेत मलको मौज्दात छैन।

मल आपूर्ति गर्ने निकायसँगै मल नभएपछि बाध्य भएर किसानले भारतीय मल ल्याउँदै आएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेडका महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि ५४६ मेट्रिक टन र धान खेतीका लागि ५८३ मेट्रिक टन रासायनिक मल डिएपी आपूर्ति हुने क्रममा रहेको छ। निर्धारण गरिएका कोटामध्ये थोरै मात्रै डिएपी मल धान खेतीका लागि आपूर्ति भएको छ।

मल आइपुग्न अझै एक हप्ता बढी समय कुर्नुपर्ने भएको छ। कम्पनीका कार्यालय प्रमुख शाहले भने, ‘मल अझै आइपुगेको छैन। मौज्दात पनि छैन। मल आइपुग्न असारको दोस्रो हप्ता किसानले कुर्नुपर्ने देखिएको छ।’

उनका अनुसार असारको तेस्रो हप्तापछि मात्रै रासायनिक मल युरिया आइपुग्छ। युरिया मल कम्पनीले नबेचेको पाँच महिनाभन्दा बढी भइसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग समेत मल मौज्दात छैन। कार्यालयका प्रमुख दीपक भट्टका अनुसार रासायनिक मल डिएपी असारको पहिलो हप्तामै आइपुग्नेछ। कर्पोरेशनले आठ सय ३३ मेट्रिक टन डिएपी मल आपूर्ति गर्न लागेको छ।

‘हप्ता दिनभित्रै पूरै मल आइपुग्छ’, उनले भने, ‘त्यसपछि वितरण हुन्छ।’ कर्पोरेशनसँग सिंगल सुपर फस्फेट ९एसएसपी० र पोटास मल मात्रै मौज्दात छ। मल आपूर्ति गर्ने दुवै कम्पनीले सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएका छन्। यहाँ कृषि सामग्री कम्पनीले ७० र कर्पोरेशनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ। (थाहाखवरबाट)