पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखरलाई शक्तिशाली हुन नदिन आफ्नै निर्वाचन क्षेत्र समेत छोड्न दबाव

चिन्तन खबर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको उम्मेदवार भई आकर्षक मत प्राप्त गरेपछि नेता डा. शेखर कोइराला पार्टीभित्र शक्तिशाली बन्दै गएका छन् । आफ्नो समूहबाट पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री सहितका पदमा विजयी गराएपछि कोइराला शक्ति झनझन बढेको छ ।

विगतमा सभापति शेरबहादुर देउवा इतर समूहमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, सुजाता कोइराला लगायतले देउवालाई सहयोग गर्दा समेत शेखरले प्रतिस्पर्धात्मक मत पाएपछि संस्थापन पक्ष झस्किएको छ । अझ गठबन्धनबाट निर्वाचनमा जाने विषयमा विमति राखेपछि कांग्रेस कार्यकर्तामाझ शेखरको लोकप्रियता बढ्दो छ ।

कोइरालाको लोकप्रियता बढेपछि आसन्न निर्वाचनमा उनलाई चौतर्फी दबावमा पार्न खोजिएको छ । दबावकै लागि कोइरालालाई उनले विगतबाट चुनाव लड्दै आएको क्षेत्र छाड्न सो क्षेत्रमा रहेका देउवा पक्षका नेताहरुले दबाव दिन थालेका छन् ।

कोइराला मोरङको क्षेत्र नं. ६ बाट उम्मेदवार बन्दै आउनुभएको छ । उक्त क्षेत्रमा गत निर्वाचनमा उहाँ नेकपा (एमाले)का लालबावु पण्डितसँग पराजित हुनुभएको थियो । यस पटक सो क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बन्न डा. कोइराला सहित देउवा पक्षका डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका छन् । संग्रौला र रायमाझी संस्थापन पक्षका हुन् । रायमाझी त कांग्रेस राष्ट्रियसभा दलका नेता समेत हुन् ।

कोइरालालाई चुनौती दिन संस्थापनले संग्रौला र रायमाझीलाई अघि सारेको हो । प्रदेश १ का पार्टी उपसभापति समेत रहेका रायमाझी भन्छन् “यसपटक यो क्षेत्रबाट मैले चुनाव लड्ने हो। शेखर कोइरालाले क्षेत्र परिवर्तन गर्नुपर्छ।’ रायमाझी लगायतले कोइरालालाई मोरङ–२ मा जान सार्वजनिक रूपमै दबाव दिइरहेका छन् ।

उनीसहितका संस्थापन पक्षका नेताहरू यो क्षेत्र कोइरालाले छाड्नु पर्ने भन्दै निरन्तर लबिङमा छन् भने कोइराला यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।कोइरालालाई शक्तिशाली हुन नदिन संस्थापन पक्षले महाधिवेशनयता निरन्तर प्रयास गर्दै आएको छ। शेखर निकट नेताहरूका अनुसार सोही कारण घेराबन्दी गरिएको हो ।

मोरङ–६ मा २०७४ को निर्वाचनमा कोइराला वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित बनेका थिए। वाम गठबन्धनका पण्डितले त्यसबेला ३३ हजार ९४१ मत ल्याउँदै जीत दर्ता गर्दा कोइराला ३३ हजार २६६ मत ल्याएर पराजित बनेका थिए। पण्डित र कोइरालाबीचको मतान्तर ६७५ मत मात्रै थियो।

यसपटक गठबन्धनको सहारामा सजिलै जीत निस्कने कांग्रेस नेताहरूको आशा छ। नेता कोइराला स्वयं भने स्थानीय चुनावमा गठबन्धनको विपक्षमा थिए। उनले अहिले स्थानीय चुनावताका जस्तो गठबन्धनको खुला विरोध त गरेका छैनन्। तर, कांग्रेसले कम्तीमा सय सिटबेगर तालमेल गर्न नहुने अडान चाहिँ राखिरहेका छन्।

कांग्रेसभित्र कोइराला परिवारको बलियो पकड रहेको मानिने यो क्षेत्रमा क्षेत्रीय समितिले कोइराला एक्लैको नाम सिफारिस गर्ने तयारी गरेको तर कोइरालाकै आग्रहमा आवेदन लिएर छलफलको बाटो खुला गरिएको उनीनिकट नेताहरुको भनाइ छ।

विराटनगर महानगरको वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२, बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरको २, ३, ४, ५ र ६ नम्बर वडा यो क्षेत्रमा पर्दछन् । पछिल्लो स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार कांग्रेसका उम्मेदवारले नै सबैभन्दा धेरै मत पाएका छन्।

कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २७ हजार ८६ मत पाउँदा एमालेका उम्मेदवारले २४ हजार ५५६, माओवादीकाले ४ हजार ९९६, जसपाकाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, एकीकृत समाजवादीले २ हजार ३५५ र लोसपाका वडाध्यक्ष उम्मेदवारले ८९५ मत पाएका थिए।

सत्ता गठबन्धनका दलहरुको सबैको मत जोड्दा यहाँ ३८ हजार ३७६ हुन्छ। जुन एमालेभन्दा बढी हो। २०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी डिला संग्रौलाले पनि यसपटक आफू प्रत्यक्षतर्फ प्रतिष्पर्धा गर्ने बताएकी छन्।

कांग्रेसबाट उम्मेदवार बन्ने चर्चित नेताहरूको लर्को लाग्दा एमालेले भने अहिलेसम्म उम्मेदवार छनोटबारे छलफल मात्रै गरिरहेको छ। यो क्षेत्रबाट एमालेले फेरि लालबाबु पण्डितलाई नै अघि सार्ने तयारी गरेको छ। यद्यपि पछिल्लो राष्ट्रिय सभा निर्वाचनमा गोलाप्रथामा हारेका अध्यक्ष केपी शर्मा ओली निकट नेता गुरू बराल पनि यहाँबाट उम्मेदवार हुन सक्ने सम्भावना एमाले नेताहरू औंल्याउँछन्।