पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा वर्षेनि बढ्दैछन् आत्महत्याका घटना, रोकथामका प्रयास शून्य

चिन्तन खबर

फिदिम । विगतका तीन वर्षमा निरन्तर बढेका आत्महत्याका घटना गत आर्थिक वर्षमा समेत उस्तै रहेपछि पाँचथरमा आत्महत्याको समस्या चिन्ताजनक बनेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि ०७७/०७८ सम्म आत्महत्याका घटना वर्षेनि बढेका थिए । आ.व. ०७७/०७८ मा भन्दा आत्महत्याका घटनामा आ.व. ०७८/०८९ मा ३.५ प्रतिशतले कमी आएका छ, तर सो आ.व.मा पनि आत्महत्या गर्नेको सङ्ख्या ५६ थियो । जिल्लामा आ.व. ०७५/०७६ मा ४४ जना, ०७६/०७७ मा ५४ जना, ०७७/०७८ मा ५८ जना र ०७८/०७९ मा ५६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क छ । चालु आ.व.को हालसम्म जिल्लामा नौ जनाले आत्महत्या गरिसकेका छन् ।

आत्महत्याका घटनामध्ये सबैभन्दा बढी फिदिम नगरपालिकामा ३० प्रतिशत घटना भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत भन्दा बढी झुण्डिएका छन् भने बाँकीले विष पिएको पाइन्छ । प्रहरीका अनुसार सबैभन्दा बढी १८ देखि ४५ वर्ष उमेरका ब्यक्तिहरुले आत्महत्या गर्ने गरेका छन् ।

सो चार वर्ष दुई महिनाको अवधिमा २२१ जनाले आत्महत्या गर्दा १८ वर्ष मुनिका २५ जना, ४६ देखि ६० वर्षको उमेरका २९ जना र ६० वर्षभन्दा माथिका १० जनाले आत्महत्या गरेका छन् । बाँकी सबै १८ देखि ४५ वर्ष उमेरका छन् । यस्तै जिल्लामा आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या बढी छ । आत्महत्या गर्नेमध्ये साधारण लेखपढ भएका र कक्षा १० सम्म अध्ययन गरेका धेरै ब्यक्तिहरु बढी रहेको पाँचथर प्रहरीको तथ्याङ्कले देखाउँछ ।

पाँचथर प्रहरीले आत्महत्याका घटनामा कमी आउन नसकेपछि घटनाहरुलाई केलाई मिहीन विश्लेषण गरेको छ । जसअनुसार करीब ४५ प्रतिशत ब्यक्तिहरुको आत्महत्याको कारण पत्ता लागेको छैन् भने करीब ४० प्रतिशतले घरायशी समस्याका कारण आत्महत्याको बाटो रोजेको पाइन्छ । आत्महत्या गर्ने बाँकी भने मानसिक विचलन, प्रेम सम्बन्ध लगायतका कारणले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

“मेहनतका साथ अनुसन्धान गर्दा पनि आत्महत्याको कारण पत्ता लाग्दैन”, प्रहरी नायव उपरीक्षक राकेश थापाले भन्नुभयो, “अनाहकमा आत्महत्या गर्नेको संख्या बढी छ ।” कारण पत्ता लागेका मध्ये आर्थिक लेनदेनमा समस्या, अनैतिक सम्बन्धबाट उत्पन्न समस्या, पारिवारीक कलह तथा तनाब, गरिबी तथा बेरोजगारी, वैदेशिक रोजगारीका कारण सिर्जित समस्या प्रमुख कारणहरु रहेको प्रनाउ थापाको भनाई छ ।

कतिपयले दोश्रो/तेश्रो पटकको प्रयासबाट आत्महत्या गरेको पाइएको उहाँले वताउनुभयो । “एक/दुई पटक परिवार, आफन्तजन, छरछिमेकीले बचाए पनि आत्महत्याको प्रयास गरेका कतिपय ब्यक्तिहरुले अन्तमा घटना घटाई छाडेको पाइन्छ”, थापाले भन्नुभयो ।

आत्महत्याका घटनामा कमी आउन नसकेपनि यसतर्फ सरोकारवालाको ध्यान गएको छैन् । आत्महत्या सहित आपराधिक घटनाको बढोत्तरीजस्ता समस्या देखिएपछि तीन वर्षअघि जिल्ला समन्वय समिति पाँचथरको अगुवाईमा मनोसामाजिक विमर्शका कार्यक्रम अघि बढाउन प्रशिक्षकहरु तयार पारिएको थियो ।

तर स्थानीय तहहरुले यससम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सकेनन् भने अन्य सरकारी तथा गैरसरकारी निकायबाट समेत आत्महत्या रोकथामका प्रभावकारी कदम अघि बढ्न सकेका छैनन् । जसकारण जिल्लामा आत्महत्या गर्ने समस्या चिन्ताजनक रुपमा बढिरहेको पाइन्छ ।