पाँचथर । प्रदेश १ को पूर्वी पहाडी जिल्ला पाँचथरबाट दुई ‘हेभी वेट’ नेताबीच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
नेकपा (एमाले)बाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ्ग र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
दलबलसहित दुवै नेता मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको फिदिममा आइतबार पुग्नुभएको थियो ।
उनी २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धी बनेका नेम्बाङसँग आङ्देम्बे पराजित हुनुभएको थियो । त्यसबेला नेम्बाङ्ग वाम गठबन्धनका संयुक्त उम्मेदवार बन्नुभएको थियो ।
नेम्बाङ्ग तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका चर्चित मन्त्री हुनुहुन्छ । उहाँले यस पटक पनि चुनावी मैदानमा उत्रिनुको कारण यसअघि मन्त्री हुँदा सुरु गरेका र सुरु गर्न बाँकी कामहरू पूरा गर्नु रहेको बताउनुभयो । उहाँको बितेको पाँच वर्षमा पाँचथरको विकास अतुलनीय भएको पनि दाबीसमेत छ ।
उहाँले भन्नुभयो – “तीसौँ वर्षमा नभएका तर यो तीन/चार वर्षमा समग्र पूर्वाधार निर्माणदेखि लिएर यहाँको हरेक क्षेत्रको विकासलाई अघि बढाइएको छ, पाँचथर जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान चालियो, केही काम बाँकी छ, खानेपानी स्रोत भएकाहरूमा करोडौँका योजनाहरू सुरु भएका छन् ।”
नेम्बाङलेभन्दा पछि मनोनयन दर्ता गराउनुभएका आङ्देम्बेले पाँचथरमा विकासको नेतृत्व गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले स्थिर सरकार बनाउँदै पाँचथरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।
आङ्देम्बे उम्मेदवार बनेको सत्ता गठबन्धनभित्र पाँचथरमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मात्र छन् ।
२०७४ भन्दा पहिले दुईवटा चुनाव क्षेत्र हुँदा आङ्देम्बे र नेम्बाङको क्षेत्र भिन्नै थियो । आङ्देम्बेले क्षेत्र नम्बर २ र नेम्बाङले क्षेत्र नम्बर १ बाट चुनाव चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । आङ्देम्बे २०७० मा भएको संविधानसभा चुनावमा निर्वाचित हुँदा नेम्बाङ भने आम चुनावहरू २०४८ र २०५६ मा निर्वाचित भएका थिए ।
प्रदेशमा नयाँदेखि पुराना अनुहार
प्रदेश चुनाव क्षेत्र ‘क’ मा सत्ता गठबन्धन र एमालेका नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहाँ एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारीले उम्मेद्वारी दिनुभएको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला अध्यक्ष कमल जबेगूले उम्मेद्वारी दिनुभएको हो ।
प्रदेश ‘ख’मा भने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ र संविधान सभा सदस्य एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङ प्रतिस्पर्धी बन्नुभएको छ ।
नेम्बाङ र आङ्बोबीच पहिलो पटक चुनावमा प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतिक्रिया