काठमाडौं । पोखरामा भएको यती एयरको हवाइजहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव अझै पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने डा. कँडेलले जानकारी दिए ।
“६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङ्गर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ ।
डा. कँडेलले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए। यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ ।
विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया