विराटनगर । झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागूऔषध दुर्ब्यसनमा फसेकाहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मनोसामाजिक परामर्श दिएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध न्यूनिकरण कार्ययोजना ‘म सक्छु अभियान–२०७९’ अन्तरगत परामर्शको कार्यक्रम सम्पन्न भएको हो । लागूऔषध ओसार–पसार, बिक्री–बितरण तथा दुर्ब्यसनलाई न्यूनिकरण गर्ने लक्ष्यअनुसार बिराटनगर–१६ स्थित म सक्छु अभियानको कार्यालयमा उक्त परामर्श कार्यक्रम सम्पन्न भएको हो ।
लागूऔषध दुर्ब्यसनमा फसेकालाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले परामर्श सेवा प्रदान गर्नुभएको थियो । कार्यक्रममा ५० जना लागूऔषध दुर्ब्यसनमा फसेकाको सहभागिता थियो ।
यस्तै झापाको मेचीनगर नगरपालिका–६ मेची पुलमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागूऔषध सेवनकर्ताहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया