फिदिम । जगंलमा लागेको आगो वस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा दुई दिनको अन्तरमा ५ घर जलेका छन् । जलेका ५ मध्ये ४ घरमा मानिसको बसोबास रहेको थियो ।
हिँजो मध्यान्ह १२ः३० बजे कुम्मायक–१ सिम्लेको ओइलानी जंगलमा लागेको आगो वस्तीमा पस्दा स्थानीयवासी मानभक्त बोहोरा, कमल बोहोरा र मदन बोहोराको घर र ग्वाली जलेका छन् । मानभक्त र कमलका जस्तापाताको छानो लगाएका २/२ तले र मदनको खरको छानो भएको २ तले घर जलेका हुन् ।
मदनको घरमा भने मानिसको बसोबास नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
ती दिनअघि सोमवार समेत जंगलमा लागेको आगो वस्तीमा पस्दा कुम्मायक–१ साठीमुरेका २ घर जलेका थिए । साठीमुरे जंगलमा लागेको आगो वस्तीमा पस्दा स्थानीयवासी वसन्तकुमार चाम्लिङ राई र छत्रबहादुर चाम्लिङ राईको १/१ तले घर जलेका थिए ।
दुई घर जल्दा करीब रु. २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीकार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट विस्थापित भएकाहरु छिमेकीको शरणमा बसेका छन् ।
कुम्मायकको वडा नं. १ यासोक र वडा नं. ५ स्याबरुम्बाका विभिन्न जंगलमा आगो लागेपछि नजिकै रहेका वस्तीमा पनि सल्किएको हो । सुक्खा र हावाहुरीका कारण जंगलमा लागेको आगो निकै छिटो फैलने गरेको छ ।
तमोर तटीय क्षेत्रमा पर्ने यी स्थानमा वर्षेनि आगलागीबाट ठूलो धनमालको क्षति हुने गरेपनि आगलागी हुनबाट रोक्ने तथा आगलागीबाट हुने क्षति कम गर्ने कुनै पनि कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।
प्रतिक्रिया