फिदिम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनक विषय भएको वताउँदै अर्थतन्त्रको सुधारमा आफूहरु गम्भीर रहेको वताउनुभएको छ ।
एमाले सरकारबाट बाहिरिएको दुई वर्ष नहुँदै देश चिन्ताजनक अवस्थातर्फ लागेको वताउँदै अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको वताउनुभयो । “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यस कार्यमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौं”, अध्यक्ष ओलीले भन्नुभयो ।
नेकपा (एमाले) पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थमन्त्रीले ‘कर्मचारीलाई तनाखा खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौं है’ भन्नु सामान्य कुरा नरहेको वताउनुभयो । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छोडिदिनु पर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”
कानून कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानूनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको वताउनुभयो । भत्कन लागेका मूल्य, मान्यतालाई पुनस्र्थापित गर्न एमाले कार्यकर्ताहरुले अनुशासित, संगठित र ब्यवस्थित रुपमा पार्टी पङ्तीलाई सक्रिय गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“अब लोगो झुण्ड्याएर, संगठनमा बसेर मात्रै हुँदैन् । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै संगठनलाई चुस्त दुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ”, उहाँले भन्नुभयो, “यो सबै काम पार्टी संगठन बनाउन, चुनाव जित्नका लागि होइन् । यो देशलाई ठिक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।”
अध्यक्ष ओलीले श्रमलाई घृष्णा नगर्न र सबै प्रकारका श्रममा जोडिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उत्पादनलाई विशेष जोड दिई उत्पादन हुनसक्ने खाद्यवस्तुमा आत्मनिर्भर बनेर उदाहरणीय बन्न उहाँ पार्टी सदस्यहरुलाई सुझाव दिनुभयो । गरिबी, पूर्वाधारको अभाव जस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको उहाँले स्मरण गर्नुभयो ।
प्रदेश नं. १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिँजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक ब्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो ।
“विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । वालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्”, ओलीले भन्नुभयो, “मैले विद्यालय उद्घाटन गरें, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन् ।”
एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक विधिबाट आफ्ना असन्तुष्टिलाई सम्बोधन गर्न सक्ने वताउनुभयो । आफूहरुलाई लक्षित गरी भएको विरोधलाई अन्यथा नलिएको वताउँदै नेम्बाङले सबै समस्याहरुको उठान समस्या समाधानमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया