फिदिम । घट्दो विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दै पाँचथरको पहिलो क्याम्पस पाँचथर बहुमुखी क्याम्पसले महायज्ञमार्फत सञ्चालनको दीगो स्रोत जुटाउने तयारी गरेको छ ।
स्नातक र स्नातकोत्तर तहको अध्यापन हुने यस क्याम्पसको सञ्चालनमा मद्दत पुग्ने गरी अक्षय कोष स्थापना गर्ने, स्नातक र स्नातकोत्तर तहमा विषय र कार्यक्रम थप गर्ने, प्राविधिक विषयमा कक्षा सञ्चालनको आधार तयार गर्ने उद्देश्यसहित क्याम्पसले महायज्ञ सञ्चालन गर्न लागेको हो । क्याम्पसले यही फागुन २ गतेदेखि ९ गतेसम्म क्याम्पस परिसरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव आयोजना गर्न लागेको हो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले समुदायकै लगानीमा सेवा विस्तार गर्ने योजना बनाएको क्याम्पस प्रमुख खेमनाथ खतिवडाले वताउनुभयो ।
महायज्ञ तथा आध्यात्मिक महोत्सवको उद्देश्य क्याम्पसमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरु, कोभिड–१९ तथा डेङ्गी महामारीमा ज्यान गुमाएका तथा वैदेशिक रोजगारीका क्रममा मृत्युवरण गरेका जिल्लावासीहरुको आत्माको मुक्तिको कामना तथा स्नातक तहमा बीबीए र बीएसडब्लू कार्यक्रम सञ्चालन एवं प्राविधिक विषयमा कक्षा सञ्चालन समेत रहेको क्याम्पस प्रमुख खतिवडाको भनाई छ ।
मुलतः घट्दो विद्यार्थी सङ्ख्याका कारण सञ्चालनमा समस्या आउनसक्ने देखिएपछि क्याम्पसले अतिरिक्त स्रोत जुटाउन लागेको हो । सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाका अनुसार विद्यार्थी सङ्ख्या विगतभन्दा आधाले घटेको छ भने पछिल्ला दिनमा भर्नादर निकै कम छ । “तीन वर्षअघि स्नातक तहको प्रथम वर्षमा ३८२ जना विद्यार्थी भर्ना भएका थिए । अहिले भर्ना चलिरहँदा त्यो सङ्ख्या केवल ४५ छ”, ढुङ्गानाले भन्नुभयो, “अहिलेको भर्ना दर निकै चिन्ताजनक छ ।”
समग्रमा विद्यार्थी सङ्ख्या आधाले घटेको ढुङ्गानाको भनाई छ । दुई वर्षअघि विद्यार्थी सङ्ख्या एक हजारभन्दा बढी रहेकामा अहिले ६०० हाराहारी मात्रै विद्यार्थी अध्ययनरत रहेको ढुङ्गानाले जानकारी दिनुभयो । प्रसिद्ध कथावाचन दीनवन्धु पोखरेल मुख्य कथावाचक रहने महायज्ञबाट न्यूनतम रु. पाँच करोड सङ्कलन गर्ने क्याम्पसको लक्ष्य छ । महायज्ञ सम्पन्न गर्न करीब रु. ४० लाख खर्च हुने अनुमान गरिएको सहायक क्याम्पस प्रमुख ढुङ्गानाले वताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगमार्फत वर्षेनि प्राप्त हुने अनुदान, विद्यार्थीहरुबाट उठाइने शुल्क र जिल्लाका केही स्थानीय तहहरुले गर्ने आर्थिक सहयोग क्याम्पसको आम्दानीका स्रोत रहेको क्याम्पस प्रमुख खतिवडाको भनाई छ । तर उपलब्ध स्रोतबाट मात्रै प्राध्यापकहरुलाई त्रिभुवन विश्व विद्यालयको मापदण्डबमोजिम सेवा सुविधा उपलब्ध गराउन नसकिएको तथा १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिनुपर्ने ब्यवस्था कार्यान्वयन गर्न नसकिएको खतिवडाले वताउनुभयो ।
२०३९ सालमा स्थापित यस सामुदायिक क्याम्पसले वि.सं. २०७५ सालसम्म जिल्ला मालपोत कार्यालयबाट घरजग्गा कारोबारको रजिष्ट्रेसन शुल्कबाट केही रकम प्राप्त गर्दै आएको थियो । तीन तहको संघीय शासन प्रणाली लागू भएपछि सो शुल्कबाट रकम प्राप्त हुन नसकेको क्याम्पसले जनाएको छ । यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्राधिकारमा माध्यमिक तहसम्मको शिक्षा मात्रै रहेको र उच्च शिक्षालयका लागि बजेट छुट्ट्याउँदा समस्या पर्ने देखेर यथेष्ट सहयोग नगरेको क्याम्पस प्रमुख खतिवडाको भनाई छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा स्थापित भएको संस्थालाई सङ्कटमा पर्न नदिन महायज्ञ आयोजना गर्न लागिएको वताउनुहुन्छ । “समुदायकै ठूलो लगानीमा यो क्याम्पसले हजारौं विद्यार्थीलाई शिक्षा दिएको छ । भविश्यमा समेत यसको सञ्चालनमा समस्या नहोस् भनेर महायज्ञ आयोजना गर्न लागेका हौं”, बाँस्कोटाले भन्नुभयो ।
सञ्चालक समितिप्रति समुदायस्तरमा असन्तुष्टि
वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका पूर्वमन्त्री बाँस्कोटा ०४९ सालदेखि उक्त क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । एकै ब्यक्ति तीन दशकसम्म क्याम्पसको नेतृत्वमा रहनु आश्चार्यजनक रहेको वताउँदै समुदायस्तरमा नेतृत्व परिवर्तन हुनुपर्ने, क्याम्पस सञ्चालन नियमावली परिमार्जन हुनुपर्ने तथा पारदर्शिता कायम हुनुपर्ने आवाज उठ्ने गरेको छ ।
सहायक क्याम्पस प्रमुख ढुङ्गानाका अनुसार क्याम्पसबाट सिफारिस गरिएका ब्यक्तिहरु मध्ये एक जनालाई त्रिविले सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्दै आएको थियो । तर २०७७ सालमा त्रिविले सामुदायिक क्याम्पसको सञ्चालक समिति क्याम्पस सभाबाट छनौट हुने ब्यवस्था गरेपछि सोहीअनुसार क्याम्पसको सञ्चालन नियमावली परिमार्जन गरिएको छ ।
सञ्चालन नियमावली परिमार्जनपछि क्याम्पस सभाका लागि सदस्य बन्न सार्वजनिक आव्हान गरिएकामा तीन जनाले मात्रै आवेदन दिएको तर सभाका लागि न्यूनतम ५० जना सदस्य चाहिने भएका कारण पुरानै समितिले काम गरिरहेको ढुङ्गानाको दाबी छ ।
क्याम्पसले क्याम्पस सभा गठनका लागि समेत महायज्ञलाई उपयोग गर्न लागेको हो । जसअनुसार रु. १० हजारभन्दा बढी रकम दान गर्ने दाता क्याम्पस सभा सदस्य हुनेछन् । क्याम्पस सभा सदस्यहरुबाट नयाँ सञ्चालक समिति गठन गर्न बाटो खुल्ने भएपछि महायज्ञले क्याम्पसका लागि दोहोरो सहयोग गर्ने भएको छ ।
समुदायस्तरमा असन्तुष्टि देखिएपछि क्याम्पसले सञ्चालक समितिका अध्यक्ष बाँस्कोटाको अध्यक्षतामा महायज्ञको मूल आयोजक समिति र जिल्लास्थित राजनीतिक दलका नेता र सामाजिक अगुवाहरुको संयोजकत्वमा उपसमितिहरु गठन गरेको छ । जसअनुसार नेपाली काँग्रेसका जिल्ला सभापति रुपनारायण जबेगू अनुगमन समिति, नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी स्वागत समिति र नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक विशाल रसाइली प्रचार समितिको संयोजक रहनुभएको छ ।
यसैगरी नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ दाता पहिचान तथा सहजिकरण समिति, नेपाली काँग्रेस पाँचथरका सचिव एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य दीपक नेपाल आर्थिक समिति, एमाले समर्थक रहनुभएका पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे ब्यवस्थापन समिति, काँग्रेस नेता सुवराज थापा स्वयम्सेवक परिचालन समिति, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावती खरिद समिति र काँग्रेस नेतृ विमला हाङ्सरुम्बा पूजा समितिको संयोजक रहनुभएको छ ।
फिदिम नगरपालिका–४ गढीमा अवस्थित यस क्याम्पसमा शिक्षाशास्त्र, मानविकी र ब्यवस्थापक सङ्कायमा स्नातक तह तथा शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तह अध्यापन हुँदै आएको छ ।
प्रतिक्रिया