पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

याङवरकको १४औं गाउँसभाबाट एम्बुलेन्स र नगर प्रहरीको ब्यवस्था गर्ने ऐन पारित

चिन्तन खबर

नेत्र प्रसाद कोइराला

याङवरक (थर्पू) । याङवरक गाउँपालिकाको १४औं गाउँसभाले गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नगर प्रहरीको ब्यवस्था गर्नेलगायतका ऐन पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को अध्यक्षतामा आयोजित १४औं गाउँ सभाले गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बो तथा पूर्वाधार विकास समितिका संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले प्रस्तुत गर्नुभएका प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो ।

उक्त गाउँसभाबाट पारित प्रस्तावहरुमा एम्बुलेन्स सेवा सञ्चालन विधेयक २०८०, याङवरक गाउँपालिकाको टोल विकास सवंस्था गठन तथा परिचालन सम्बधी ऐनको संशोधन विधेयक २०८०, याङवरक गाउँपालिकाको नगर प्रहरी ऐन २०८० र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव रहेका छन् ।

याङवरक गाउँपालिकाले जटिलतायुक्त गर्भवती/सुत्केरीलाई आकस्मिक प्रेसण गर्नका लागि एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने चालु आ.व.को नीति तथा कार्यक्रम बमोजिम गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न लागेको विधेयकमा जनाइएको छ । उक्त सेवाले पोषणमैत्री तथा बालमैत्री पालिका बनाउन, होम डेलिभरी (घरैमा सुत्केरी)लाई शून्यमा झार्न, भौगोलिक विकटता, सुविधासम्पन्न स्वास्थ्य सेवाको अभाव, कमजोर आर्थिक अवस्थाका गर्भवती/सुत्केरी, अपाङ्गता भएका गर्भवती/सुत्केरीको उपचार, एकल महिला, वृद्धबृद्धा लगायतले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्न एम्बुलेन्सको ब्यवस्था गर्न लागिएको विधेयकमा जनाइएको छ ।

यसैगरी गाउँपालिकाले गाउँपालिकाका बजार क्षेत्रलाई ब्यवस्थित गर्न, गाउँपालिका भित्रका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न, गाउँपालिकाको शान्ति, सुरक्षा तथा गाउँपालिकाका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न नगर प्रहरीको ब्यवस्था गर्न लागिएको जनाइएको छ ।

यस्तै वार्षिक बजेट तथा कार्यक्रम संशोधनअन्तर्गत गाउँसभाले १३औं गाउँसभाबाट पारित भएका तथा थप गरिएका गरी विभिन्न योजनाहरु समेत संशोधन गरी यसै आ.व.मा कार्यान्वयनमा लैजाने प्रस्ताव पारित गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले जानकारी दिनुभयो ।