फिदिम । रेडपाण्डा नेटवर्कको सहयोगमा यहाँको दीप ज्योति युवा क्लबले जिल्लाको याङवरक गाउँपालिकाका चौंरीपालकहरुलाई सोलार सेट वितरण गरेको छ ।
याङवरक गाउँपालिका वडा नं. १ र २ का १५ जना चौंरीपालकहरुलाई ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । याङवरक गाउँपालिका वडा नं. १ को कार्यालय च्याङथापूमा आइतवार आयोजित कार्यक्रममा चौंरीपालकहरुलाई सोलार सेट वितरण गरिएको हो । जैविक विविधता तथा दुर्लभ बन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै आएको उक्त संस्थाले रेडपाण्डा पाइने स्थानका सर्वसाधारणलाई जिविकोपार्जनमा समेत मद्दत गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत रु. २५ हजार दरका सोलार सेट वितरण गरिएको दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।
उच्च पहाडमा रहने चौंरी गोठ मौसमअनुसार स्थानान्तरण हुने गर्दछन । ठाउँ फेरिरहनु पर्ने तथा उच्च पहाडमा विद्युत सेवा नपुगेका कारण हालसम्म पनि चौंरी पालकहरु मट्टितेलले धिप्रि बालेर बस्ने गरेका छन । अन्धकारमा बस्न बाध्य चौंरीपालकहरुलाई गोठसँगै सार्न सकिने सोलार सेट उपलब्ध गराइएको बान्तवाले वताउनुभयो । उच्च पहाडमै पाइने रेडपाण्डाको संरक्षणमा पनि चौंरीपालकहरु सक्रिय छन । रेडपाण्डाको संरक्षण हौसला प्रदान गर्ने उद्देश्यले चौंरीपालकहरुलाई सोलार उपलब्ध गराइएको बान्तवाले वताउनुभयो ।
चौंरीपालक लोकेन्द्र राईले गोठ पहाडेमेघु, डुँढ लगायत स्थानमा गोठ राख्ने गर्नुभएको छ । “अहिलेसम्म कुनै पनि निकायबाट सहयोग पाएका थिएनौं । अब अन्धकारबाट मुक्त भयौं”, राईले भन्नुभयो, “मट्टितेलको बत्ति बालेर बस्ने गरेका थियौं ।” यहाँका चौंरी गोठमा २५ वटादेखि ४० वटासम्म चौंरी रहने गरेका छन् । “मौसमअनुसार गोठ तलमाथि गर्छौं । अहिले चिसोको समयमा वस्ती नजिकै गोठ ल्याएका छौं”, राईले भन्नुभयो । युवा चौंरीपालक नेत्रप्रसाद भट्टराईले अन्धकारमा बस्नुपर्ने बाध्यता हट्दा खुशी लागेको वताउनुभयो ।
विगत ३० वर्षदेखि चौंरी पाल्दै आउनुभएका याङवरक–१ तोरीफूलेका गर्जमान गुरुङका अनुसार चौंरीबाट उत्पादित घ्यू, छुर्पीको विक्रीबाट गुजारा चलाउनुका साथै केही ब्यक्तिहरुले रोजगारी पनि पाएका छन । गोठ सारिरहनु पर्ने हुँदा रातको समयमै आगो तथा मट्टितेलको बत्तीबाट गुजारा गर्दै आएको गुरुङको भनाइ छ । चौंरी पालन ब्यवसायका अतिरिक्त हिमाली संस्कृति पनि भएकाले यसको संरक्षणमा सरकारी निकायले सहयोग गर्नुपर्ने माग गुरुङको छ ।
जिल्लाको फालेलुङ चौंरी पालक कृषकहरुको संस्था कञ्चनजंघा चौंरी संरक्षण तथा विकास संस्थाका अध्यक्ष चन्द्रलाल नेपालले वर्षेनि चौंरी पालन ब्यवसाय घट्दै गएकाले यसको संरक्षणका लागि उपयोगी सामग्री वितरण गरेकामा धन्यवाद दिनुभयो । “वर्षेनि चौंरीपालन ब्यवसाय घट्दै छ । चौंरीपालन नहुँदा यसले पर्यावरणमा गर्ने क्षतिबारे सरकारी निकायहरु बेलैमा समेत हुनु जरुरी छ”, नेपालले भन्नुभयो, “उच्च पहाडबाट गाउँतिर, बजारतिर बसाईं सर्ने क्रम रोक्नु र उच्च पहाडमा मानिसको आकर्षण बढाउनु आवश्यक छ ।” नेपालका अनुसार जिल्लाको फालेलुङ गाउँपालिकामा ३० वटा र याङवरकमा १६ वटा चौंरी गोठ रहेका छन् । याङवरकतर्फका चौंरीपालक भने अझैसम्म संगठित सकेका छैनन् ।
दीप ज्योति युवा क्लबले फालेलुङतर्फका चौंरी पालकहरुलाई आधुनिक चुलो वितरण गरेको थियो । यस्तै रेडपाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयमा रेडपाण्डा संरक्षणसम्बन्धी पाठ्यपुस्तकको अध्यापन समेत हुँदै आएको दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक बान्तवाले वताउनुभयो ।
कार्यक्रममा याङवरक गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजेन्द्र खालिङ राई र वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङले सीमा क्षेत्र र रेडपाण्डाको संरक्षण गर्दै चौंरी पालन संस्कृति जोगाउँदै आएका कृषकहरुलाई हालसम्म कुनै पनि प्रकारको सहयोग गर्न नसकिएको वताउनुभयो । उहाँहरुले आगामी दिनमा चौंरीमा आधारित पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया